जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार २१:०८

महानिरिक्षक खनाल भन्नुहुन्छ – प्रहरीको विश्वासले नै समाजमा घटेका घटना प्रहरीमा आउने क्रम बढ्यो


काठमाडौं, साउन १९

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई दिने सेवा विश्वासिलो हुनुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा सञ्चालित ‘आवश्यकता पहिचानसम्बन्धी तालीम’को आज समापन गर्दै उहाँले महिला, बालबालिका र ज्येष्ठ नागरिकको मन जित्ने गरी प्रहरीले सेवा दिनुपर्ने बताउनुभयो ।

“महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई दिने सेवामा आवश्यकताको पहिचान एवम् विश्लेषण गरी न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले समाजमा शान्तिसुरक्षा एवम् अमन चयन कायम गर्न नेपाल प्रहरी सदैव लगनशील भई कार्य गर्दै आएको उल्लेख गर्नुभयो । प्रहरीले प्रदान गर्ने विश्वासिलो सेवाका कारणले नै सामाजमा भएका घटनाहरु प्रहरीसमक्ष आउने क्रममा वृद्धि भएको उहाँको भनाइ थियो ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका निर्देशक, प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले धन्यवाद ज्ञापन गर्दै सङ्गठनको आवश्यकता र नीतिअनुसार अगाडि जानका लागि तालीम महत्वपूर्ण हुने बताउनुभयो ।