जनता टाइम्स

२० श्रावण २०७६, सोमबार ०८:५७

अध्यागनममा ‘नेपाली पोर्ट’ सफ्टवेयर प्रयोगमा ल्याइदै


काठमाडौं, साउन २०

नक्कली पासपोर्टमा नक्कली भिसा, नक्कली कागजात देखाएर अध्यागमन पास, अध्यागमन अधिकारीको अभद्र व्यवहार, ढिलासुस्ती, प्रविधि अभावका कारण मेसिन रिडेबल पासपोर्ट पनि पढ्न नसक्नु, विमानस्थलमा आपराधिक पृष्ठभूमिका व्यक्तिको सहजै प्रवेश नेपालको अध्यागमनका लागि सामान्य विषय हुन्। अब भने केही महिनामै अध्यागमन अत्याधुनिक प्रविधि जडित र सुविधा सम्पन्न बन्दैछ।

अध्यागमन विभागले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक बनाउन काम थालेको हो। विभागले बेलायत, भारत, अमेरिकालगायतले अवलम्बन गर्दै आएको प्रविधि त्रिभुवन विमानस्थल अध्यागमनमा प्रयोग गर्न लागेको हो। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले मंसिरभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनलाई अध्याधुनिक प्रविधियुक्त बनाउन काम भइरहेको बताए।

‘विमानस्थललाई उच्च प्रविधियुक्त बायोमेट्रिक्स, फोटोक्याप्चर, डाटाबेस प्रणालीसहितको बनाउने काम अघि बढिरहेको छ,’ पौडेलले भने, ‘विमानस्थललाई अत्याधुनिक प्रविधिमैत्री, सुविधासम्पन्न बनाउनुका साथै अध्यागमन अधिकारीहरुको कार्यशैलीमा परिवर्तन पनि ल्याइनेछ। ’अध्यागमन आफैंले ‘नेपाली पोर्ट’ नामको सफ्टवेयर बनाई अध्यागमनलाई प्रविधियुक्त बनाउन लागेको हो। नेपाली इन्जिनियरहरुले बनाएको ‘नेपाली पोर्ट’ नामको सफ्टवेयर प्रविष्ट सम्पूर्ण डाटा (विवरण) सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सुरक्षित रहनेछन्।

यसअघि अमेरिका र भारतले विमानस्थलमा आफ्नो सफ्टवेयर प्रयोग गर्न दबाबमूलक लबिङ गर्दै आएका थिए। भारतले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवा र गृहमन्त्रीहरु वामदेव गौतम र विमलेन्द्र निधिमार्फत अध्यागमन ४० वर्षका लागि लिजमा लिन लबिङ गर्दै आएको थियो। अमेरिकाले ‘पाइसेस’ नामक सफ्टवेयर प्रयोग गर्न दबाब दिँदै आएको थियो। सफ्टवेयर र आवश्यक हार्डवेयर निःशुल्क दिने प्रस्ताव अमेरिकाले गरेको थियो। अमेरिकी अनुदानमा आफ्नो अध्यागमनमा पाइसेस सफ्टवेयर प्रयोग गरेका देशहरु अहिले सूचना चुहिएको भन्दै धमाधम आफ्नै सफ्टवेयर विकास गरिरहेको नागरिकमा खवर छ ।