जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १२:४८

सामुदायिक अस्पताल बनाउन जग्गा प्राप्त


सोलुदूधकुण्ड, साउन २०

सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा जनसहभागितामा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि १२ रोपनी जग्गासमेत प्राप्त भएको अभियन्ता डा. राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । सल्लेरीमा सञ्चालित सोलुहेल्थ केयर सेन्टरले रु १६ लाखमा खरीद गरेको उक्त जग्गा अस्पताललाई निःशुल्क दान गरेको सेन्टरका अध्यक्ष छितिज नकर्मीले जानकारी दिनुभयो ।

निजी लगानीमा सञ्चालित हेल्थ केयर सेन्टरले दुर्गम क्षेत्रमा सामुदायिक अस्पताल आवश्यक पर्ने महसुस गरी सहयोग गरेको अध्यक्ष नकर्मीको भनाइ छ । सोलुखुम्बुसहित माथिल्लो सगरमाथा क्षेत्रका बिरामीलाई समेत सहज, गुणस्तरीय र बिरामीमुखी स्वास्थ्योपचार गर्नका लागि सामुदायिक अस्पताल निर्माणको परिकल्पना गरिएको अभियन्ता डा. बस्नेतको भनाइ छ ।

करीब रु १५ करोडको अनुमानित लागतमा निर्माण हुने अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण तथा औषधिसहित विषेशज्ञस्तरीय सेवा दिने बताइएको छ । अस्पताल सञ्चालनका लागि जिल्लाको नेचासल्यान १ का डा. योगेन्द्र बस्नेत र डा. एलिना श्रेष्ठबाट उपचार सेवामा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको अभियन्ताले बताएका छन् ।

आर्थिक स्रोत जुटाउने काम मुख्य चुनौती भएको भन्दै सहयोगी व्यक्ति, संस्था तथा दातृ निकायसँग समन्वय गर्ने बताइएको छ । अस्पताल मुनाफारहित रहने भएकाले शून्य सेयर पूँजी रहने अभियन्ताको भनाइ छ । अस्पतालबाट उठेको पैसाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबाट डाक्टर पढाएर त्यसपछि जिल्लाभरि अस्पतालको शाखा विस्तार गर्ने योजना बनाइएको छ ।

यस्तै, विषेशज्ञसहित हाडजोर्नी, यौन तथा छाला, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, बाल रोग र दन्त रोगसम्बन्धी उपचार सस्तो, सुलभ र गुणस्तरीय रुपमा प्रदान गर्ने योजना छ । २०८० सालसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको र अस्पताल निर्माणपछि आफूले १० वर्षसम्म निःशुल्क सेवा गर्न तयार रहेको पनि डा. बस्नेतले बताउनुभयो ।