जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार ११:१४

धुलिखेलबाट पाँच जुवाडे एकैचोटी पक्राउ


काभ्रे, साउन २५

प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३० रुपैयाँ र १० थान तासबुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–६ का ४१ वर्षीय राम पराजुली, ३४ वर्षीय प्रशान्त श्रेष्ठ र ३० वर्षीय अशोक श्रेष्ठ, धुलिखेल नपा–९ का ३५ वर्षीय दीपक तामाङ र भक्तपुरको भक्तपुर नपा–६ का ४० वर्षीय गणेश कारञ्जित रहेका छन् । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा उनीहरुविरुद्ध आज जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । जुवा ऐनअन्तर्गत एक वर्ष कैद वा जरिवाना गरिने उल्लेख छ ।