जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार १६:१९

सिंहदरबार प्रहरी वृतबाट फरार चार थुनुवामध्ये तीन पक्राउ, ड्युटी इञ्चार्जसहित तीन प्रहरी निलम्बित


काठमाडौं, साउन २७ । महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट फरार भएका चार जना थुनुवामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।

फरार अभियुक्तध्ये थापा र लामा फरार भएलगत्तै कालिकास्थानबाट पक्राउ परेका थिए भने वाइबालाई आज बिहान जोरपाटी दक्षिण ढोकाबाट पक्राउ गरिएको हो । हिरासतबाट फरार मदन तामाङ भने अझै पक्राउ पर्न सकेका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरु मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका थिए। अभियुक्तहरुले हिरासतको झ्यालको ग्रिल ह्याक्सो ब्लेडले काटेर फरार भएको प्रहरीको भनाई छ । प्रहरीले ग्रिल काट्ने ह्याक्सो ब्लेड उपलब्ध गराउने करण मोक्तानलाई पनि पक्राउ गरेको छ। मोक्तान पनि लागुऔषध मुद्दामा ६ वर्ष जेल बसेर छुटेको व्यक्ति भएको प्रहरीको भनाई छ ।

हिरासतबाटै थुनुवा फरार भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहको नेतृत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ। समितिले थुनुवा फरार भएका बेला ड्युटीमा रहेका भनिएका असई तथा ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विकलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ ।