जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १२:३७

पर्यटनमन्त्री एक्सनपछि फाप्लुमा निगमको सफल परीक्षण उडान


सोलुखुम्बु, साउन २८

नेपाल बायुसेवा निगमको वाई १२ ई चिनियाँ विमानले सोलुखुम्बुको फाप्लुमा परीक्षण उडान गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको एक्सनपछि निगमले देशका विभिन्न भागमा परीक्षण उडान शुरु गरिरहेको छ ।

वायु सेवा निगमको ट्विनओटर विमानले मात्रै उडान भर्दै आएको फाप्लु विमानस्थलमा मगंलबार बिहान ९ बजे पहिलो पटक वाई १२ ई चिनियाँ विमानले सफल परीक्षण उडान गरेको हो । १४ सिट क्षमता भएको त्यस जहाजले ओखलढुगांको रुम्जाटारमा पनि मगंलबार नै उडान भरेको निगमका अपरेशन डाइरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानकारी दिनुभयो ।

२०७१ सालमा नेपाल सरकारले चीन सरकारको सहयोगमा ४ ओटा वाई १२ ई जहाज नेपाल भित्र्याएको थियो । त्यस विमानले १० दिनको अवधिमा पूर्वका भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको अपरेशन डाइरेक्टर ज्वारचनले बताउनुभयो ।

हाल त्यस जहाजले सुदूर पश्चिमका जिल्लाहरुमा उडान भर्दै आएको निगमले जनाएको छ । विशेषगरी त्यस विमान छोटो धावन मार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।