जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १४:२६

ओली सरकारको कामको परिणाम : हेलिकोप्टरबाट उद्धारले बचायो दुर्गमका सुत्केरी र शिशुको ज्यान


हुम्ला, साउन २८ । सुत्केरी ब्यथाले छट्पटीएकी दुर्गमकी महिलाहरुको ज्यान बचाउने माध्याम हवाई लिफ्ट भएको छ । दुर्गम जिल्लामा हेलिकोप्टर नै नागरिकको ज्यान बचाउने साधन बनेको हो ।

पछिल्लो पटक हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ३ रोकायाबाडाकी अबकति बुढालाई सुत्केरी ब्यथाले च्याप्यो । व्यथा लागेको २७ घण्टापछि सदरमुकाम सिमकोटबाट गएको हेलिकोप्टरले उहाँको उद्धारपछि भ्याकुम प्रविधिबाट उपचार गर्दा आमा र बच्चाको ज्यान जोगिएको छ । ब्यथा लागेको १९ घण्टापछि जिल्ला अस्पतालमा खबर गरेको भए पनि बिहान मौसम खराब हुँदा सिमकोटबाट २७ घण्टा पछि हेलिकोप्टरबाट उद्धार भएको उहाँका श्रीमान कालीबहादुर बुढाले बताउनुभयो ।

ब्यथाले निक्कै थलिएकी श्रीमतिको आशा मारेको भए पनि हेलिकोप्टरबाट उद्धार हुँदा बचाउन सकिएको उहाँले बताउनुभयो । २२ बर्ष उमेर पुगेकी बुढाले दुई बर्ष अगाडि पहिलो बच्चा जन्माउनु भएको थियो भने यो उहाँको दोस्रो सन्तान हो । अस्पतालमा उद्धार गरी ल्याएपछि भ्याकुम प्रविधिबाटसफलता पूर्बक तीन केजी ७ सय ग्रामको बच्चा जन्माउन सफल भएको जिल्ला असपतालकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।

शल्यक्रिया गर्नुपर्ने अबस्था आएको भए चिकित्सक नभएकाले जिल्ला बाहिर रिफर गर्ने तयारी समेत गरिरहेको अबस्थामा अस्पतालमा ल्याउने बित्तिकै मेशिनको प्रयोग गर्दा बच्चा जन्माउन सफल भएको उहाँले बताउनुभयो । हाल आमा र बच्चा दुबै अस्पतालमा उपचार गरिरहनु भएको छ । चंखेलीमा गर्भवती महिला छट्पटाई रहेको खबर आउना साथ सिमकोटमै रहेका निजी हेलिकोप्टरहरुसँग कुरा गरेर उद्धारका लागि हेलि चंखेली पठाईएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताउनुभयो ।

मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको र यसको आर्थिक ब्ययभार संघीय सरकारबाट वा प्रदेश सरकारमध्य जताबाट छिटो भुक्तानी हुन्छ उतैको खर्चबाट बेहोरिने उहाँले बताउनु भयो । ’खर्च भन्दा पनि समयमा उद्धार गरेर आमा र बच्चाको ज्यान जोगिएको छ, यो ठुलो कुरा हो,’ प्रजिअ भट्टराईले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराई जिल्लामा आएको १५ दिन मा नै दुई गर्भवती महिलाको उद्धार भइसकेको छ ।

यसअघि नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमाल पारीको गाउँकी गर्भवती महिलाको उद्धार गरिएको थियो । एक बर्ष यता हुम्ला जिल्लामा सात वटा गर्भवती महिलाको हेलिकोप्टरमा उद्धार गरिएको छ । जसमध्य तीन जनाको जिल्ला मै उपचार गरेर बच्चा जन्माइएको छ भने चार जनालाई जिल्ला बािरह रिफर गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम जिल्लाका सुत्केरी तथा घाइते महिलाहरुको हेलिकोप्टरबाट उद्धारको कार्यक्रम अघि बढाएको हो । सरकारको यो निर्णयपछि दुर्गममा सुत्केरीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता निकै हटेको छ । एकाधबाहेक अधिकांश स्थानमा उद्धार अघि बढेको छ ।