जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १३:४९

एक्शनमा मेयर शाक्य : अब कामनपाभित्रका सबै सामूदायिक विद्यालयमा एकै खाले रंगरोगन


काठमाडौं, साउन २९ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सामूदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै खाले रंग रोगन गर्ने योजनाअघि सारेको बताउनु भएको छ ।

काठमाडौं महानगरपालिकाभित्र पदस्थापन भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथग्रहण कार्यक्रममा सम्वोधन गर्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो । ‘हामी काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन, भौतिक संरचनामा पनि सकेसम्म एक रुपता ल्याउने प्रयासमा लागेका छौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका ९१ ओटै सामूदायिक विद्यालय भवनमा एकै खालको रंग रोगन गर्ने तयारी थालेका छौँ ।’

उहाँले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले नै गर्ने जानकारी पनि दिनुभयो । ‘हामीले सामूदायिक विद्यालयको रंग रोग नगर्ने, खेल मैदान निर्माण गर्ने, हरेक विद्यालयमा वृक्षारोपन गर्ने, सौचालय र खानेपानीको व्यवस्थागर्ने लगायतका शीर्षकका लागि १० करोड रकम छुट्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘निजी विद्यालयलाई गाली गर्ने होइन सामूदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामूदायिकतिर आकर्षित गर्नुपर्छ । त्यसो भयो भने निजी विद्यालयमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जान्छ ।’

उहाँले अहिलेको पुस्ता सूचना, प्रविधि, योजना र नयाँ–नयाँ ज्ञानमा निपुर्ण भएको भन्दै पुरानाको अनुवभसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामूदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धिभएर जाने दाबी पनि गर्नुभयो । ‘तपाईंहरुप्रति हामीलाई ठूलो विश्वास छ,’ पदस्थापन भएका ३० जना शिक्षकलाई सपथ खुवाएपछि मेयर शाक्यले भन्नुभयो, ‘सामूदायिक विद्यालयमा राज्यको लगानी ठूलो छ । तर, परिणाम राम्रो आउन सकेको छैन । तपाईंहरुको व्यवस्थापकीय क्षमता पनि प्रदर्शन गर्नुहोला । आगामी वर्ष एसइइको परिणाम केही हदसम्म सुधार आयो भने तपाईंहरुको मूल्याङ्कन त्यँही हुन्छ ।’

अहिले पनि निजी विद्यालयलाई गाली गर्ने अनि सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नेतर्फ ध्यान नगएकाले समस्या भएको भन्दै उहाँले त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले एउटा शिक्षकले राम्रो गर्यो भने राष्ट्रको भविष्य पनि उज्जल बन्ने भन्दै कमजोरी हुँदा राष्ट्रको भविष्य पनि अध्यारो हुने बताउनुभयो । ‘शिक्षण पेशा भनेका सिङ्गो समाजलाई प्रभावपार्ने क्षेत्र हो,’ उहाँले भन्नुभयो । कार्यक्रममा सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका निमित्त शिक्षा अधिकारी तारापती खरेलले सपथग्रहण गराउँदै शिक्षको गुणस्तर सुधारमा ध्यान दिन आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा शिक्षा विभागका अधिकृत मोती भट्टराईले पदस्थापन भएका शिक्षकलाई महानगरपालिकाभित्रको समग्र शैक्षिक गुणस्तरलाई उकास्न र उच्चतम नतिजा प्राप्त गर्ने कुरामा भूमिका खेल्न आग्रह गर्नुभयो । ‘सरकारी विद्यालयमा अहिले पनि शिक्षकहरु नियमित नजाने, पढाउन अल्छी गर्ने, शैक्षिक सामग्री नलिई जाने परम्परा छ,’ उहाँले भन्नुभयो, ‘त्यो कुरामा ख्याल गर्दै सामूदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिनुहोला ।’