जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १६:४३

नेकपाको सचिवालय बैठक सुरु : यस्तो छ एजेण्डा


काठमाडौं, भदौं १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज पार्टी एकतालाई पुर्णता दिने भएको छ । निकै जटिल बनेको केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएसँगै नेकपाले आजको सचिवालय बैठकबाट एकताको बाँकी काम सकाएर पुर्णता दिन लागेको हो ।

एकताका बाँकी काम टुंग्याउन केही बेर अघि सचिवालय बैठक सुरु भएको छ । शुक्रवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले अत्यन्तै सही निर्णय लिएर पार्टीभित्रको बिवाद समाधान गरेपछि आजको बैठकले बाँकी काम सकाउने गरी बैठकको एजेण्डा बनाइएको छ । आजको बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोकिने छ । यस्तै प्रदेश कमिटी स्तरीय बिशेष कमिटी गठनको एजेण्डा पनि रहेको छ । अहिलेसम्म जिम्मेवारी नपाएका केन्द्रीय सदस्यहरुलाई जनसंगठनको इञ्चार्ज र सहइञ्चार्ज बनाउने गरी प्रस्ताव तयार भएको छ ।

शुक्रवारको बैठकले नेताहरुको रुचीअनुसार नै जिम्मेवारी दिएकोले आज बस्ने बैठकले रुची र बिगतमा काम गरेको संगठनकै आधारमा इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने सचिवालयका एक नेताले जानकारी दिए । शुक्रबार नै बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावपछि सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष चयन हुनुभएको छ ।

यस्तै आजको बैठकमा बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको वरीयताको बिषयलाई समेत एजेण्डा बनाइएको छ । बैठकमा नेता खनालले आफ्नो बरियता मिलाउने अध्यक्षद्वयको आश्वासन किन पूरा भएन भन्दै कडा रुपमा प्रस्तुत हुनुभएपछि आजको बैठकमा छलफल गरी टुंगो लगाउने सहमति बनेको छ । आजको बैठकमा सो एजेण्डाबारे पनि छलफल गरी निर्णय हुने नेताहरुले बताएका छन ।

तात्कालिन एमालेमा अध्यक्षपछि खनाल र त्यसपछि नेपालको बरियता रहेको थियो । पार्टी एकतापछि आफू अनुपस्थित बैठकबाट बरियता घटाएको भन्दै खनालले आपत्ति जनाउँदै आउनुभएको छ । बैठकमा खनालले सो माग गरेपछि नेपालले असहमति जनाउनु भएको थियो । नेकपाले ३२ बिभाग र नीति अध्ययन प्रतिष्ठानको प्रमुख–उपप्रमुखको टुंगो लगाइसकेको छ ।

आजको बैठकले बाँकी रहेका सवै काम टुंग्याएर एकतालाई पुर्णता दिएको घोषणासहित दुई नेताबीचको बरियता बिवादको टुंगो लगाउने छ । नेकपाले बिभाग प्रमुख र उपप्रमुखलाई जनसंगठनको इञ्चार्ज–सहइञ्चार्ज नहुने मापदण्ड बनाइसकेको छ । यसैबीच आफ्नो बरियतामा धावा बोलेपछि बरिष्ठ नेता नेपालले पूर्वएमालेतर्फका तीन नेतालाई सचिवालयमा थप्न प्रस्ताव गर्नुभएको छ । नेता नेपालले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा राख्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।