जनता टाइम्स

२ भाद्र २०७६, सोमबार २०:०३

क्षेत्राधिकार मिचेर आदेश दिने न्यायाधीश अधिकारीले दिए राजिनामा


काठमाडौं, भदौ २

क्षेत्राधिकार नाघेर आदेश दिने उच्च अदालत पोखराका न्यायाधीशले राजीनामा दिएका छन् । अदालती दायर मिचेर मदिरा उत्पादक तथा बितरक कम्पनी गोर्खा ब्रुअरीलाई कर छुटको आदेश जारी गरेपछि जीवनहरि अधिकारीमाथी छानविन चलिरहेको छ । अधिकारीले ४० वर्ष न्याय सेवामा काम गरेका थिए ।

आगामी फागुनमा अनिवार्य अवकास पाउन लागेका अधिकारीले आइतवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष राजिनामा बुझाएका हुन् । कर छुट प्रकरणको अनुसन्धानका क्रममा काजमा तानिएका न्यायाधीश अधिकारीले आइतवार नै छानविन समितिमा बयान दिएका थिए । गोर्खा ब्रुअरीले दायर गरेको रिटमाथि उच्च अदालतको प्रादेशिक क्षेत्राधिकार नाघेर सुनुवाई गरी आदेश जारी गरेको भन्दै सर्वोच्च अदालतले ३ जना न्यायाधीशमाथि छानबिन गर्न आदेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश राणाको इजलाशले उच्च अदालत पोखराबाट जारी भएको आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । साथै, प्रधानन्यायाधीश राणाको इजलाशले प्रादेशिक क्षेत्राधिकार मिचेर मुद्दाको सुनुवाई गरी आदेश जारी गर्ने न्यायाधीशहरु यादव, अधिकारी र शाहीमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन आदेशको प्रतिलिपि झिकाउन समेत भनेको थियो । सर्वोच्चको सोही आदेशका आधारमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा कर छुट प्रकरणाको छानबिनका लागि समिति गठन गरिएको थियो ।