जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार ०८:५९

सुर्यविनायक नगरपालिकाको नयाँ योजना : तपाईकै नामको बिरुवा


भक्तपुर, भदौ ३

सडक छेउमा तपाईंको आफ्नै नाममा कुनै एउटा बिरुवा होस् भन्ने चाहानुहुन्छ ! सूर्यविनायक नगरपालिका पुग्नुहोस्, तपाईंको इच्छा पूरा हुनसक्छ ।

नगरपालिकाले अबदेखि सडक छेउमा रोपिने बिरुवा तपाईंकै नाममा राख्नसक्ने नीति पारित गरेको छ । बिरुवा रोपिने तर हुर्काउने जिम्मा कसैले नलिने भएपछि नगरपालिकाले बिरुवाको संरक्षण गर्न यस्तो उपाय अपनाएको हो । आफ्नो नाममा बिरुवा रोपेपछि हुर्काउने र संरक्षण गर्ने दायित्व भने तपाईंकै हुनेछ । हरियाली प्रवद्र्धन गरी नगरको सौन्दर्यमा वृद्धि, पर्यावरणको संवद्र्धनका लागि सूर्यविनायक नगरपालिकाले नगरसभाबाट यस्तो नीति पारित गरेको हो ।

नगरक्षेत्रको सौन्दर्य बढाउन नगरपालिकाले घरको नक्सा पास गर्दा चारवटा बिरुवा रोप्ने प्रतिबद्धता जनाउनुपर्ने नीति पनि अघिसारेको छ । दुई वर्षे योजनासहित सुरु भएको यस अभियानका लागि अनुमानित ५० लाख रुपियाँ आवश्यक पर्ने छ । यस वर्ष पहिलो चरणमा कौशलटार, बालकोट, सिरुटार र बिरुवासम्म जनसहभागितामा सडकको दायाँबायाँ तीन फिट अग्ला बिरुवा रोपिने भएको छ ।

केही दिनअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यस क्षेत्रमा वृक्षरोपणको सुरुवात गर्नुभएपछि हाल सार्वसाधारणबाट पनि बिरुवा रोप्ने र हुर्काउने जिम्मा लिने क्रम बढेको छ । सूर्यविनायक नगरपालिका वडा–२ का अध्यक्ष कमलनाथ आचार्यको संयोजकत्वमा हरियाली सडक प्रवद्र्धन अभियान’मा जनसहभागितामा वृक्षरोपण कार्यक्रम अगाडि बढाइएको हो । एक सातामै अभियानका लागि पाँच सय व्यक्तिले वृक्षरोपण अभियानका लागि ऐक्यबद्धता जनाएको प्रदेश–३ का सभासद शशीजङ्ग थापाले जानकारी दिनुभयो । (गोरखापत्र)