जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १४:३९

रवि लामिछानेकी पत्नी निकिताले दिइन चितनवका एस्पी मल्लसहित ३ जनाबिरुद्ध उजुरी


काठमाडौं, भदौं ३ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसहित तीन जनाविरुद्ध उजुरी दिनुभएको छ । रवि पत्नी निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत चितवनका एसपी दानबहादुर मल्लसहित तीन जनाबिरुद्ध उजुरी दिनुभएको हो ।

निकिताले दर्ता गरेको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपालआजडट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइ उजुरी दिनुभएको हो ।

निकिताले दायर गरेको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण किर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको छ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या अघिको भिडियो सार्वजनिक गरी बिद्युतीय अपराध गरेको जिकिर निकिताको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएस्पी) उत्तमराज सुवेदीले निकिता पौडेल उजुरी दर्ता गर्न आएको बताउनु भयो । ‘अहिले उहाँहरु उजुरी दर्ता गर्न भनेर यहाँ आउनुभएको छ, उजुरी दर्ताको प्रक्रिया चलिरहेको छ,’ एसएसपी सुवेदीले भन्नुभयो ।

सालिकराम आत्महत्या प्रकरणमा निकिताका पति रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आत्महत्या दुरुत्षहन अभियोगमा पक्राउ गरी हिजो मात्रै पाँच दिन म्याद थप भएको छ । गत बिहीवार पक्राउ परेका लामिछानेसहितका तीनै जनालाई हिजो पुनः ५ दिनको लागि हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद थप भएको हो ।

रविको पक्षमा वकालत गर्ने कानून ब्यवसायीहरुले अदालतले आवश्यक नभए पनि म्याद थप भएको भन्दै पत्रकार सम्मेलन गरेको भालिपल्ट निकिता एसपी मल्ल, पत्रकार श्रेष्ठ र कोइरालाबिरुद्ध उजुरी दर्ता गराउन महानगरीय प्रहरी कार्यालय काठमाडौं पुग्नुभएको हो ।