जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०७:४५

घरको भित्ता नै फोडेर प्रहरीले पक्राउ गर्यो भारतीय पूर्वगृहमन्त्री चिदम्बरम


नयाँ दिल्ली, भदौ ५ । भारतका पूर्वगृहमन्त्री तथा अर्थमन्त्री पी चिदम्बरम भ्रष्टचारको आरोपमा पक्राउ परेका छन् । कांग्रेसका वरिष्ठ नेतासमेत रहेका चिदम्बरमलाई बुधबार राति सीबीआईले उनकै घरबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्न प्रहरीले केही दिनअघिबाटै खोजेपनि फरार रहदै आएका थिए । तर, बुधबार एकाएक पार्टी कार्यालयबाट उनि सार्वजनिक भएका थिए । पक्राउ गर्नुपहिले उनले दिल्लीस्थित कांग्रेसको मुख्यालयमा पत्रकार सम्मेलन गरेका थिए। उनले आफू कानुनबाट भाग्न नभइ कानुनको शरणमा जान चाहेको बताएका थिए। दिल्ली हाइकोर्टले यसअघि चितम्बरमलाई अग्रिम जमानत दिन अस्वीकार गरेको थियो। त्यसपछि सीबीआई उनलाई खोजिरहेको थियो। तर २७ घण्टासम्म भेट्न सकेको थिएन। त्यसपछि उनका वकील सुप्रिम कोर्ट पुगेका थिए। जहाँ उनको निवेदनमाथि शुक्रबार मात्रै सुनुवाई हुने बीबीसीले लेखेको छ।

पत्रकार सम्मेलन गरी घर पुगेको केही मिनेटमै सीबीआईको टोली उनकै घर पुगेको थियो । पक्राउका लागि पुगेको टोलीलाई उनले घरको ढोका नखोलेपछि भित्ता फोडेर प्रहरी भित्र छिरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । पक्राउको विरोधमा कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए। सत्ताधारी भारतीय जनता पार्टीले विरोधी दलका नेताविरुद्ध राज्यका संयन्त्रको दुरुपयोग गरेको कांग्रेसको आरोप छ।