जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १७:४९

रवि लामिछानेसहित तीनै जनाको प्रहरी हिरासतमा बसाई लम्बियो, यस्तो छ कारण


चितवन, भदौं ८ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा पठाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेपछि अदालतमा बयान नसिकिएको कारण लामिछाने, पत्रकार युवराज कँडेल र रुकू भनिने अस्मिता कार्कीलाई पुनः प्रहरी हिरासतमै पठाइएको हो । जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरु पुनः प्रहरी हिरासतभित्रै बस्नु परेको हो ।

अदालतमा आज अस्मिता कार्की ‘रुकु’को मात्र अदालतमा बयान सकिएको छ । भोलि लामिछाने र कँडेलको बयान सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिीमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने भन्ने निर्णय हुनेछ । यसअघि प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राय पेश गरेको थियो ।

सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त प्रमाणको आधारमा आत्महत्या दुरुत्साहनमा मुद्दा चल्ने ठहर गरी अभियोगपत्र अदालतमा दर्ता गरेको हो । अभियोगपत्रमा संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवाना माग दावी गरिएको छ ।

पत्रकार पुडासैनीले गत २० साउनमा चितवनको भरतपुर महानगरपालिका १ स्थित कंगारु होटलमा आत्महत्या गर्नु अघि बनाएको भिडियोमा लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका थिए । सोही भिडियोका आधारमा प्रहरीले लामिछाने, कँडेल र कार्कीलाई पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान सकेर आज नै सरकारी वकिल कार्यालयमा रायसहितको फाइल बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले फाइल अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको बताउनु भयो । ‘हामीले अभियोगपत्र जिल्ला अदालतमा पेश गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अभियोगपत्रमा मुलुकी अपराध संहित २०७४ को १८५ बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेका छौं ।’ अभियोग पत्र दर्ता भएपछि अदालतले कार्कीसँगको बयान सकाएको छ भने लामिछाने र कँडेलसँग भोलि बयान लिने बताएको छ ।