जनता टाइम्स

९ भाद्र २०७६, सोमबार ०८:५३

नेकपाको सचिवालय बैठक आज : यस्तो छ एकतालाई पुर्णता दिने एजेण्डा


काठमाडौं, भदौं ९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम सकाउन आज दिउसो सचिवालय बैठक बोलाउनु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारको क्रममा सिंगापुरमा रहनुभएको बेला सचिवालयको निर्णयअनुसार अध्यक्ष प्रचण्डले आज ११ बजे पार्टी कार्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाउनु भएको हो ।

अध्यक्ष ओलीले आफू उपचारमा सिंगापुर रहेको बेला अध्यक्ष प्रचण्डले बैठक बोलाएर एकतको बाँकी कामलाई टुंग्याउन अघिल्लो सचिवालय बैठकमा प्रस्ताव गर्नुभएको थियो । नेकपाले पार्टी एकताको अधिकांश काम टुंगो लगाए पनि केन्द्रीय आयोग, बिभागका सदस्यहरु, महानगर कमिटी र प्रवास कमिटीको टुंगो लाग्न बाँकी छ । आजको बैठकमा ६ ओटै महानगर कमिटीको अध्यक्ष सचिव, प्रवास कमिटी र बाँकी केन्द्रीय सदस्यहरूको कार्यबिभाजन टुंगो लगाउने एजेण्डा रहेको छ ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डले बैठक बोलाउनु भएको हो । बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता माधवकुमार नेपालसहित सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको छ ।

नेकपामा पार्टी एकता भएपछि एउटा अध्यक्ष मात्रै मुलुकमा रहेको बेला सचिवालय बैठक बस्न लागेको पहिलो पटक हो । बैठकमा सवैको सहमतिका आधारमा निर्णय लिने गरी अध्यक्ष प्रचण्डले गृहकार्य गर्नुभएको छ । यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो । आजको बैठकले केन्द्रीय आयोग र बिभागका सदस्यहरुको समेत टुंगो लगाउने एजेण्डा राखिएको छ । नेकपाका नेताहरुले आजको बैठकबाट एकतालाई पुर्णता दिने योजना रहेको बताएका छन ।