जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार ०६:२३

डाक्टर बाबुराम भट्टराईलाई खुला–पत्र


मनहरि तिमिल्सिना

डाक्टरसाहेव,
नमस्कार एवं अभिवादन ।

शनिबारको बिहान, यसो सामाजिक सञ्जालतिर चियाउँदै थिए । तपाईंको एउटा ट्वीटले मेरो मन÷मस्तिष्कमा शक्तिशाली भूकम्पको धक्का ल्याइदियो। प्रकाशित कृतिका रुपमा ‘राजनीतिक अर्थशास्त्रको आँखीझ्यालबाट’ र हिसिला म्याडमसमेतको सहलेखनमा ‘मार्क्सवाद र महिला मुक्ति’ कृति रहे पनि तपाईंका सयौं वैचारिक लेखहरुकै विरुद्धमा उभिएको तपाईको ३७ शब्दको ट्वीटले केही नलेखी धरै दिएन। त्यसैले यो सानो पत्र कोर्ने धृष्टता गरेको छु ।

कृष्ण पोखरेलको ट्वीट थियो, ‘हिजो त मैले नेताहरुको दन्तबझानबाट पछौटे मुलूकका कम्युनिष्टहरु पनि पछौटे नै हुँदा रहेछन् भन्ने निष्कर्ष निकालें।’ पोखरेलको ट्वीटलाई समर्थन गर्दै यहाँले लेखेको ट्वीट यहाँकै राजनीतिक जीवनका ३७ वसन्तलाई धुलिसात पार्दै उभियो। यहाँको ट्वीट क्षणिक आवेग वा उत्तेजनाको परिणाम पक्कै थिएन। बरु, वैचारिक समझदारीकै खरो र झर्रो अभिव्यक्ति थियो। यहाँको ट्वीट रहेछ, ‘विल्कुल सही कुरा, कृष्ण सर ! ‘कम्युनिज्म’ भनेको ‘स्वर्ग’जस्तै परिकल्पना हो, अर्थात् जीवनमा होइन, मरेपछि प्राप्त हुने कुरा हो, जुन आजसम्म कसैले देखेको छैन। तैपनि धार्मिक पण्डाहरूले धर्मभीरू जनतालाई स्वर्गको सपना बेच्न नछाडेझैं राजनीतिक पण्डाहरूले पनि कम्युनिज्मको सपना बेचिरहनेछन्।’

ट्वीटमा तपाईले केही गम्भिर प्रकृतिका दार्शनिक र वैचारिक सवाल उठाउनुभएको छ। मेरो पत्रको धृष्टता यहाँले उठाएका वैचारिक तथ्यमाथि विमर्श गर्नु होइन। बरु, यहाँले नै किशोर, युवा, प्रौढ र वृद्धावस्थाको पूर्वाधसम्म अंगिकार गरेको वैचारिक दृष्टिकोणको स्मरण गराउनु मात्र हो । ट्वीटमा यहाँले साम्यवादलाई स्वर्गजस्तै परिकल्पना भन्नुभएको छ। आदर्शवादी दृष्टिमा स्वर्ग पूनर्जन्मको एउटा स्वर्णीम् संसार हो। तर, विम्वात्मक रुपमा स्वतन्त्रताको दुनियाँको एक उत्कृष्ट समाज पनि हो भन्न सकिन्छ। यहाँले जसरी स्वर्ग मान्छे मरेपछि प्राप्त गरिने परिकल्पना हो, साम्यवाद पनि मानिस जीवित रहुञ्जेल प्राप्त गर्न नसकिने भ्रमका रुपमा प्रस्तुत गर्नुभएको छ। यहाँको ट्वीटले आफ्नै विगतप्रति निकै तिखो कटाक्ष मात्र गरेको छैन, यति गहन वैचारिक र दार्शनिक चिन्तनलाई भद्दा मजाकको रुपमा प्रस्तुत पनि गरेको छ।

साम्यवादका पक्षधरहरुलाई यहाँले राजनीतिक धर्मभीरुको संज्ञा दिनुभएको छ, जुन विश्वका क्रुर तानाशाह, फासीवादी चिन्तक र शासकहरुकै शब्द सापटी हुन आउँछ। साम्यवादप्रति यहाँको विमतिलाई भन्नु केही छैन। तर, त्यसका समर्थकहरुमाथि देखिएको तपाईंको यो क्रुरता पक्कै पनि निन्दाको विषय हुन्छ र हुनुपर्छ। यसले साम्यवादीहरुमाथि मात्रै प्रहार गरेको छैन, तपाईंकै गौरवशाली इतिहासको पनि खिल्ली उडाएको छ। वि.सं. २०३८ सालमा अखिल भारत नेपाली विद्यार्थी समाजमा संगठित भएदेखि नेपालमा नयाँ संविधान (२०७२) जारी भएसम्मको अवधि जम्माजम्मी ३४ वर्ष हुन आउँछ, जुन अवधिमा तपाई नयाँ जनवादी क्रान्तिको विजयका लागि मात्रै होमिनुभएन, समाजवाद हुँदै साम्यवादमा पुग्ने रणनीतिक समझदारीकै बाटोमा हिड्नुभयो। ३४ वर्षको लामो अवधिमा तपाईले लाखौं मानिसहरुलाई साम्यवादको आदर्शको स्कूलिङ गर्नुभयो, जो अहिले पनि वर्गविहीन समाजको लक्ष्यसहित राजनीतिक आन्दोलनमा क्रियाशील छन्।

वि.सं. २०५२ सालमा जनयुद्धको घोषणापूर्व नेकपा (माओवादी) ले जारी गरेको ७ बुंदे प्रतीज्ञा–पत्रमा समाजवाद हुँदै साम्यवाद पुग्ने रणनीतिकप्रति दृढता थियो, जुन दृढतामा तपाईको शतप्रतिशत समर्थन थियो। त्यसपछिका सबै वैचारिक मतभेद र अन्तरसङ्घर्षहरुमा तपाईले साम्यवादी आदर्शप्रति कहिल्यै विमति राख्नुभएन। बरु, पार्टीभित्र लोकतान्त्रिक बहस र पूर्ण जनवादको अभ्यासले मात्र साम्यवादी लक्ष्यलाई सघाउ पुग्ने तर्क गरिरहनुभयो। वि.सं. २०५२ देखि २०७२ सम्मको २० वर्षको अवधिमा तपाईले पार्टीभित्र पटक–पटक फरक मत राख्नुभयो। तर, कुनै पनि फरक मतमा तपाईको साम्यवादप्रति विमति थिएन। केन्द्रीय समितिबाट पारित भएका सहमतिका दस्तावेजमा विमति हुने कुरा थिएन। तर, विभिन्न समयमा पार्टीका विभिन्न तहमा तपाईले राखेका फरक मतमा समेत साम्यवादप्रति गहिरो विश्वास र निष्ठा थियो, सायद त्यसैकारण हुनुपर्छ, ‘कम्युनिष्ट पार्टीमा जनवादको पूर्ण अभ्यासको मत राख्ने कैयौं नेता–कार्यकर्ता तपाईप्रति आकर्षित भए।

पार्टीभित्र तीव्र वैचारिक मतभेद थियो। २०६१ कार्तिक २६ गते नेकपा (माओवादी) का अध्यक्ष कमरेड प्रचण्डलाई तपाईले ४ बुंदे पत्र लेख्नुभयो। पत्रको विचार–दर्शन सम्बन्धि प्रश्नको (ग) मा तपाईले लेख्नुभएको छ, ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा पुग्नु कम्युनिस्ट क्रान्तिको मुल अभिष्ट हो। आवश्यकताको संसार भनेको वर्ग विभाजित समाजका सीमा र बाध्यताले भरिएको संसार हो। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा संशोधनवादी र अवसरवादीको मुल विशेषता तात्कालीन आवश्यकताको बढाइचढाई गर्नु वा आदर्शीकरण गर्नु र स्वतन्त्रताको संसार वा साम्यवादी संसारतर्फको यात्रालाई न्यूनिकरण वा निषेध गर्नु रहिआएको छ। हाम्रो पार्टीका कतिपय नेताहरुले पनि जानेर वा नजानेर आवश्यकताको दुनियाँलाई बढाइचढाइँ गर्ने र स्वतन्त्रताको दुनियाँलाई भ्रष्टीकरण वा न्यूनिकरण गर्ने प्रवृत्ति देखिएको छ।’

यहाँकै भाषामा आवश्यकताको दुनियाँ समाजवादी व्यवस्था हो, जहाँ कम्युनिष्ट पार्टीले साम्यवादमा पुग्न चाहेर पनि विभिन्न सीमा र बाध्यताका कारण त्यो चरणका विशेषता पार गर्नुपर्ने हुन्छ। अनि, साम्यवाद स्वतन्त्रताको दुनियाँ हो, जहाँ व्यक्ति र समाजका आकाङ्क्षाहरुलाई कुनै सीमा वा बाध्यताले रोक्दैन। आवश्यकताका नाममा स्वतन्त्रताको हनन् गरिँदा त्यसले साम्यवादमा पुग्ने रणनीतिक यात्रामा तगारो हाल्दछ। यो मेरो होइन, १५ वर्षअघिको यहाँकै वैचारिक समझदारी हो। उक्त पत्रमा यहाँले घुमाउरो तर प्रष्ट भाषामा आफू साम्यवादको यात्री भएको मात्र बताउनुभएको छैन, प्रचण्डहरु आवश्यकताका नाममा साम्यवादी आदर्शका विरुद्ध उभिएको गम्भिर आरोप पनि लगाउनुभएको छ। उक्त पत्रमा यहाँले आफू साम्यवादकै लक्ष्यका लागि अघि बढेको र पार्टीका जिम्मेवार नेताहरु त्यसका विरुद्ध उभिएको तर्क गर्नुभएको थियो। यो एउटा प्रसङ्ग मात्र हो, वामपन्थी राजनीतिक जीवनमा यहाँले यस्ता सयौं वैचारिक विषय उठान गर्नुभएको छ, जहाँ साम्यवादकै लागि ती सबथोक गर्नुपरेको बताउनुभएको थियो।

आज तपाईंको ३७ शब्दको त्यो ट्वीट तपाईकै सिङ्गो जीवनका विरुद्ध उभिएको छ। साम्यवाद कल्पना मात्र भएको, त्यो असम्भव भएको र साम्यवादका समर्थकहरु राजनीतिक धर्मभीरु भएको तपाईको आरोपप्रति गम्भिर असहमति जाहेर गर्दै म यहाँलाई केही प्रश्न गर्ने अनुमति चाहन्छु ।

१. डाक्टर साहेव, तपाई नेपालको विख्यात वुद्धिजीवी। हरेक कुराको वैचारिक खोज अनुसन्धान गरेर मात्र पक्षधरता लिने मान्छे। सधैं वैचारिक अध्ययन, विश्ेलषण र संश्लेषणलाई जीवनको सर्वाधिक महत्वपूर्ण आयाम ठान्ने मान्छे। के तपाई भुलभुलैयामा परेर नै २०३८–२०७२ सम्म साम्यवादी दर्शनको पक्षमा उभिनुभएको थियो ?

२. तपाईले आफ्नो राजनीतिक जीवनको सबैभन्दा उर्जाशील समय वामपन्थी मात्र नभएर साम्यवादी आन्दोलनमा बिताउनुभयो। तपाईकै प्रशिक्षण र स्कूलिङबाट लाखौं मानिसहरु युद्धमा सामेल भए। पूरानो सत्ताले छातिमा गोली ताक्दासमेत नझुकी साम्यवादकै आदर्श बोकेर बलिदानी गरे। ती शहिदहरुको सङ्कल्पलाई तपाई के भन्नुहुन्छ ? मैले तपाईहरुको आस्था, आदर्श र रगतप्रति गद्दारी गरें भन्नु पर्दैन ?

३. तपाईले साम्यवादलाई कल्पना मात्रै भन्नुभएको छैन, असम्भव पनि भनेर ठोकुवा गर्नुभएको छ। संसारका सबै भौतिक वस्तु, प्रकृति, समाज र मानव जीवन गतिशील छन् भन्ने द्वन्द्ववादी दृष्टिकोणबाट तपाई विचलित हुनुभएको हो ? होइन भने साम्यवाद असम्भव भन्ने तपाईको अन्तिम निष्कर्ष द्वनद्ववाद नभएर अधिभूतवाद होइन र ? कि सत्य सापेक्षित नभएर निरपेक्ष हुन्छ ?

४. जीवनका ३४ वर्ष साम्यवादी सिद्धान्तका पक्षमा क्रियाशील भएर अहिले साम्यवादका विरुद्ध उभिँदा तपाई कुन मनोदशामा हुनुहुन्छ, तपाईलाई जीवनका ३४ वर्ष व्यर्थैमा बिते भन्ने लाग्दैन ? यदि २०३८–२०७२ सम्म तपाई गलत हुनुहुन्थ्यो भने त्यसको पश्चाताप गर्नु पर्दैन ? तपाई ठीक हुनुहुन्थ्यो भने तपाईको राजनीति ठीक दर्शन बेठीक कसरी हुन सक्छ ? जबकि राजनीतिको पथप्रदर्शक दर्शन र सिद्धान्त होइन र ?

५. तपाईले मानिसले आजसम्म साम्यवाद नै नदेखेको मत राख्नुभएको छ, जुन तर्क नभएर कूतर्क मात्र हो। मानव जातिले साम्यवाद देखे÷भोगेरै आएको हो। मानव जातिले आदिम साम्यवाद, दास युग, सामन्ती युग, पूँजीवादी युग हुँदै समाजवादी युगको चरणमा पुगेर व्यवहारिक ज्ञान नै हासिल गरिसकेको छ। यो यथार्थ भौतिकवादी चिन्तकहरुले मात्र नभएर आदर्शवादका पक्षधरहरुले पनि भिन्न परिभाषाका साथ स्वीकार्दै आएका छन्। के तपाई यी ऐतिहासिक तथ्यहरुलाई बेवास्ता गर्न सक्नुहुन्छ ?

६. तपाईले साम्यवादका हिमायतीहरुलाई राजनीतिक धर्मभीरुको आरोप लगाउनुभएको छ। तपाईहरुलाई हामी उत्तरआधुनिकतावादी दर्शनका पण्डा भन्न मिल्ने कि नमिल्ने ? साम्यवादी सिद्धान्तका पक्षधरहरुलाई यति गम्भिर प्रकृतिको आरोप लगाउँदा ‘म पनि ३४ वर्ष धर्मभीरु नै थिएँ, जीवनको त्यो अवधिमा मेरो विवेक गुमेको थियो, वौद्धिकता थिएन, म पनि कल्पनामा थिएँ’ भन्न सक्नुहुन्छ ? होइन भने आफ्नै अघिल्तिरको विगत बिर्सेर अरुमाथि यति गम्भिर लान्छना लगाउन सुहाउँछ ?

७. डाक्टर साहेवले साम्यवाद कसैले नदेखेका कारण त्यो हुँदैन भन्नुभएको रहेछ। के आदिम साम्यवाद र दास युग तपाईकै आँखाले देखेको थियो ? तपाईले देखेका सबै कुरा ठीक अरु सबै बेठीक भन्ने दृष्टिकोणले यान्त्रिक र रसायन विज्ञानलाई निषेध गर्दैन ? जसरी दास युगको मान्छेले पूँजीवाद देखेन, त्यसरी नै सामन्ती र पूँजीवादी युगमा मानव जातिले साम्यवाद देख्न सक्दैन। त्यसो भए के समाज र मानव जाति समाजवादमा पुगेपछि गतिहीन र स्थिर रहन्छ ? विश्व राजनीति र समाज नै पूँजीवादी चरणमा रहेका बेला साम्यवाद कसैले नदेखेकाले हुँदैन भन्नु मैले नदेखेपछि मेरा पनाति हुँदैनन् भन्नुजस्तो होइन र ? योभन्दा बढ्दा वैचारिक टाटपल्टाई अरु केही हुन सक्छ ?

डाक्टर साहेव,

सोभियत संघको बिघटन भएको भर्खरै २८ वर्ष पुगेको छ। सन् १९९१ मा सोभियत संघको बिघटनपछि पूँजीवादी÷साम्राज्यवादी चिन्तक र शासकहरु कुर्लिए, ‘विचारधाराको अन्त्य भयो, साम्यवादको अन्त्य भयो, इतिहासको अन्त्य भयो, बहुध्रुवीय विश्वको अन्त्य भयो।’ तर, इतिहासको गति रोकिएन। साम्यवादको अन्त्य भएको घोषणापछि विश्वमा फेरि क्रान्तिका ज्वारभाटा उठे। पेरु, नेपाल, भारत, बंगलादेश लगायत विश्वका कैयौं देशहरुमा कम्युनिष्टहरुले साम्यवादी आदर्शको पक्षमा क्रान्तिको झण्डा उठाए।

आज तपाईले निकालेको निष्कर्ष सन् १९९० को दशकपछि पूँजीवादका ठेकेदारहरुले निकालेको निष्कर्षभन्दा फरक छैन। तपाईको दिमागबाट ‘साम्यवादको भूत’ हट्दैमा जीवनको गति रोकिन्न, मानव जातिको सङ्घर्षको इतिहास रोकिन्न। तपाईंलाई साम्यवाद असम्भव कल्पना लाग्ला। तर, तपाईंकै भाषामा फेरि पनि अरबौं राजनीतिक धर्मभीरुहरु साम्यवादको झण्डा लिएर उठ्नेछन्, अस्तु !