जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार ०९:४०

भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा छैन कुनै खतरा, यसरी गराइन्छ बैठक


काठमाडौं भदौ १० । भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्नुमा कुनै खतरा नरहेको प्रधानमन्त्री कार्यालयले प्रष्ट पारेको छ । प्रधानमन्त्रीले टेली प्रिजेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्दा गोपनीयतामा खतरा नरहेको प्रधानमन्त्री कार्यालयले प्रष्ट पारेको हो ।

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले यो प्रविधि पूर्णरूपमा सुरक्षित रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत गर्नुभएको हो । उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्सबाट सोमबार मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नुभएको थियो । सल्लाहकार अलीले मंगलबार मन्त्रिपरिषद् बैठक सञ्चालनका लागि प्रयोग गरिएको टेली प्रिसेन्स प्रविधि गोपनीयता भंग हुने खालको नभएको स्पष्ट पार्नुभएको छ ।

‘हिजो टेली प्रिजेन्समार्फत गरिएको ऐतिहासिक मन्त्रिपरिषद् बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ, यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न भीपीएन (Virtual Private Network) प्रयोग गरेका छौं,’ अलीले भन्नुभएको छ ।

अलीले यस प्रक्रियामा कसरी प्रविधि कनेक्ट गराइएको हुन्छ भन्ने जानकारीसमेत दिनुभएको छ । सल्लाहकार अलीले सुरक्षा गोपनियताका कारण सबै जानकारी दिन नमिल्ने भन्दै यो फेसबुक कल, स्काइप कल, यूट्युब लाइभ जस्तो नबुझ्न र भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ ।