जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार १८:०६

सिंगापुरबाट प्रधानमन्त्री ओलीको सन्देश : म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस


काठमाडौं, भदौ १० । स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निँदाउँदा पनि नेपालकै सपना देख्ने गरेको जानकारी दिनुभएको छ । भिडियो कन्फरेन्समार्फत पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।

‘म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल) मै छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस,’ मन्त्रिपरिषद बैठकमा कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलसहित मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको भनाई थियो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुव बाँस्कोटाका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जानकारी गराउँदै सो निर्देशन दिनुभएको हो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै उहाँ हप्ता, दश दिनमा स्वस्थ्य भएर स्वदेश फर्कने पनि प्रष्ट पार्नुभयो ।

‘प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलोअप हुन्थ्यो, अहिले पनि भइरहेको छ,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी गर्यौं, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । सात डोज औषधी दिनु पर्नेमा उहाँलाई दुई वटा डोज दिइ सकिइको छ । उहाँलाई सातै वटा डोज दिनु नपर्ने पनि हुन सक्छ ।’

उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले आफ्नो बारेमा चिन्ता व्यक्त गर्ने सबैलाई प्रधानमन्त्री ओलीले धन्यवादसमेत दिनुभएको छ । ‘स्वास्थ्य अवस्थाबारे चासो राखेका सवैलाई प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमाफत नै धन्यवाद दिनुभएको छ,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । प्रधानमन्त्री ओलीको आज पनि प्लाज्मा फेरेसिस गर्ने चिकित्सकले जानकारी दिइसकेका छन । आजसहित यो तेस्रो पटक हुनेछ ।