Untitled Document

नेताको विदेशी मोह:वीरको भिभिआईपी क्याविन २६ बर्षदेखि रित्तै !

खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ । सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन सो क्याबिनमा । यो खबर आजको  नागरिकमा छ ।

भिभिआइपी बिरामीबाहेक अरूलाई दिन नमिल्ने भएकाले २६ वर्षदेखि वीर अस्पतालको अतिविशिष्ट क्याबिन खाली छ । बहालवाला प्रधानमन्त्री, उपप्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख र उपसभामुखलाई सो क्याबिनमा उपचार गर्न मिल्छ ।तर यो कक्षमा भर्ना भएर उपचार गर्न कुनै पनि विशिष्ट व्यक्तित्व नआउँदा सो कक्ष खाली रहँदै आएको छ । सो कक्ष खाली भएको पनि एक दुई होइन, २६ वर्ष भएको छ ।

कुनै पनि बेला देशका विशिष्ट व्यक्तित्व उपचार गर्न आउन सक्ने सम्भावनामा अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी तैनाथ गरेको छ । क्याबिनभित्र आवश्यक सामान पनि तयार अवस्थामा छन् । तर, यो क्याबिन प्रतीक्षामै सीमित छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि कुनै पनि भिभिआइपीले सो कक्षमा उपचार सेवा लिएका छैनन् ।
‘दुवै राष्ट्रपतिले बहिरंग विभागमा आएर दाँत बनाएर गएका छन्, प्रधानमन्त्री कुनै पनि आएका छैनन्,’ वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने ।

भिभिआइपी बिरामीबाहेक अरूलाई दिन नमिल्ने भएकाले २६ वर्षदेखि क्याबिन खाली भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल नियमावलीअनुसार बहालवाला प्रधानमन्त्री, उपप्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख र उपसभामुखलाई यो क्याबिनमा उपचार गर्न मिल्छ ।

पञ्चायतकालमा राजा तथा राजपरिवार सदस्यले यो क्याबिनमा उपचार गरेको स्मरण पुराना चिकित्सकलाई छ । यो अस्पतालमा ३६ वर्षदेखि उपचार गर्दै आएका ग्यास्ट्रो सर्जन डा. सुबोध अधिकारीका अनुसार तत्कालीन रानी ऐश्वर्यले यही क्याबिनमै बसेर उपचार गराएकी थिइन् । ‘रानी ऐश्वर्य, राजा वीरेन्द्रका बहिनीज्वाइँ र सौतेनी आमापट्टिका छोराले पनि यही क्याबिनमा बसेर उपचार गराएका थिए,’ डा. अधिकारीले भने । राजाका ज्वाइँको पत्थरी र भाइको कलेजोको उपचार पनि सोही कक्षमा भएको थियो ।

पञ्चायती व्यवस्था अन्त्यसँगै यो क्याबिनमा भिभिआइपी आउन छोडेका छन् । नेपाली कांग्रेसका नेता गणेशमान सिंहले २०५७ सालमा सो कक्षमै उपचार गराएका थिए । तर, सिंह कुनै पदमा थिएनन् ।अस्पतालमा भिभिआइपी क्याबिनसँगै भिआइपी क्याबिनको पनि व्यवस्था छ । तर सबै भिआइपी उपचार गर्न वीरमा आउँदैनन् । नियमअनुसार यो क्याबिन बहालवाला मन्त्री, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख आदिका लागि छुट्ट्याइएको हो ।

यद्यपि सो क्याबिनमा हाल पूर्वसभामुख तारानाथ रानाभाटले पिसाब थैलीको उपचार गराइरहेका छन् भने यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललगायतले पनि उपचार गराएका थिए ।उतिसारो भिआइपी नआए पनि यो क्याबिनमा बेलाबखत सांसद भने भर्ना हुने गरेका निर्देशक बस्नेतले बताए । ‘समयसमयमा सांसदहरू आएर उपचार गराउनुहुन्छ, उहाँहरूलाई त्यहींबाट उपचार दिइरहेका छौं,’ उनले भने ।

भिभिआइपी र भिआइपी दुवै क्याबिनको लागि अस्पतालले निश्चित शुल्क तोकेको छ । जसअनुसार भिभिआइपी क्याबिनको दैनिक ३ देखि ८ हजार रुपैयाँ तिर्नुपर्छ भने भिआइपीका लागि दैनिक २५ सय रुपैयाँ लाग्छ । अस्पतालले नर्सिङ खर्च र सफाइ खर्चका लागि वार्षिक तीस लाखभन्दा बढी रुपैयाँ यी क्याबिनका लागि खर्च गर्छ ।भिभिआइपी आउन छाडेपछि अस्पतालले सो क्याबिनलाई तयारी अवस्थामा राख्न छाडेको थियो । तर, दुई वर्षअघि काठमाडौंमा सम्पन्न सार्क सम्मेलनलाई लक्षित गरी सरकारले ५० लाख रुपैयाँ लगानीमा क्याबिनलाई पुनः मर्मतसम्भार गरेको हो ।

सुविधासम्पन्न भईकन पनि क्याबिनमा भिभिआइपीहरू उपचारका लागि नआउँदा अस्पताल र बिरामी सबैलाई मर्का परेको चिकित्सकहरू बताउँछन् । ‘क्याबिनमा बिरामी भर्ना नहुँदा प्रत्यक्षतः अस्पताललाई र साथै बिरामीलाई पनि मर्का परेको छ,’ अस्पतालका पूर्वनिर्देशक डा. स्वयंप्रकाश पण्डितले भने, ‘खाली नभएका भए कम्तीमा दश÷बाह्र बिरामीले उपचार पाउँथे ।’ यी क्याबिनका लागि तयारी अवस्थामा राखिने नर्सिङ कर्मचारी र हेरचाह खर्चको पनि उपयोग नभएको उनले बताए ।

भिभिआइपी नआउने हो भने क्याबिनको स्वरूप परिवर्तन गरी अन्य बिरामीका लागि सो ठाउँ उपयोग गर्न सकिएमा बिरामीले उपचार पाउन सक्ने अस्पतालका अर्का चिकित्सक बताउँछन् ।कुनै पनि भिआइपी कक्षमा हुनुपर्ने जति सबै सुविधा वीर अस्पतालको सो क्याबिनमा हुँदाहुँदै पनि किन उपचारका लागि कोही भिभिआइपी आउँदैनन् भन्ने विषयमा चिकित्सकको आआफ्नै अड्कल छ । ‘बहिरंग सेवामा दुवै राष्ट्रपतिले दाँतको उपचार गरेर गएका छन्, कति रोगको उपचार गर्न नमिलेर पनि नआएका हुन सक्छन्,’ निर्देशक बस्नेतले भने ।

अस्पतालका पूर्वनिर्देशक पण्डित भने सबैजसो उपचार भएर पनि नआउनुका कारण वीरप्रतिको विश्वास नभएको अनुमान गर्छन् । ‘सबै उपकरण छन्, सबै खालका रोगको उपचार हुन्छ । तर वीर अस्पतालप्रति विश्वास नभएर हो कि, उहाँहरू नआउनुभएको ?’ डा. पण्डितले भने । पर्याप्त निजी अस्पताल खुलेका कारण भिभिआइपी पनि त्यतै तानिएको अस्पतालका पुराना एक चिकित्सकले बताए । ‘पञ्चायतकालमा योबाहेक अर्को अस्पताल थिएन, जटिल बिरामी भएपछि यहीं आउँथे,’ अस्पताल भिभिआइपी क्याबिनकी इन्चार्ज सरु अर्यालले भनिन् ।

December 17, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *