जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १२:३०

जेष्ठ नागरिकलाई भाडा छुटको निर्णय कार्यान्वयन हुन्छ, हवाई भाडा पनि पुनरावलोकन हुन्छ : पर्यटनमन्त्री भट्टराई


चितवन, भदौं १२ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने घोषणा गर्नुभएको छ । हवाई ब्यवसायीले भाडामा छुट दिन नसकिने बताएको भोलिपल्ट पर्यटनमन्त्री भट्टराईले निर्णय कार्यान्वयन गरेरै छाडने अठोट गर्नुभएको हो ।

चितवनको भरतपुर बिमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने जानकारी पनि दिनुभयो । एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला मन्त्री भट्टराईले सरकार र एयरलाइन्स कम्पनीको साझा दायित्व भएकोले लागू गरी छाड्ने प्रष्ट पार्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले राज्यले नै सम्मान गर्नुपर्ने उमेरका वृद्धवृद्धालाई भाडा छुट दिन सकिने अवस्था देखेर नै निर्णय लिइएको प्रष्ट पार्नुभयो । ‘एयरलाइन्स कम्पनीहरूको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला, वृद्धवृद्धालाई छुट दिँदा र नदिँदा पाप र धर्मका कुरा पनि हुन्छन,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘मैले त उहाँहरु आफैंले यस्तो घोषणा गर्नुहुन्छ होला भन्ने ठानेको थिएँ, तर नगर्नु भएकाले मन्त्रालयले गरेको हो ।’

निजी एयरलाइन्स कम्पनीबाट विभिन्न टिका–टिप्पणी आएको उल्लेख गर्दै उहाँले छलफल गरेर यसलाई लागू गरिने बताउनुभयो । पर्यटनमन्त्री भट्टराईले आन्तरीक हवाई भाडादर महँगो हुँदा पर्यटन क्षेत्रमा केही असर परेको पनि बताउनुभयो । ‘भाडादर महँगो हुँदा पर्यटनमा असर परेको छ, यसमा पनि पुनरावलोकन हुन्छ,’ मन्त्री भट्टराईको भनाई थियो ।