जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार ०८:४२

झुक्याएर गाँउ कमिटिमा राखेपछि चन्द समूह परित्याग


धादिङ, भदौ १४

आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनिहरुले बताएका छन् ।

आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका ५३ वर्षीय ध्रुवप्रसाद खनाल, ४२ वर्षीय श्यामबहादुर बयलकोटी, छाँगेटारका ३३ वर्षीय विष्णुप्रसाद खतिवडा, २६ वर्षीय केशवराज खतिवडा र ३८ वर्षीय दीपेन्द्रकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । सो समूह छाडेर आफूहरु स्वतन्त्र हुने र गाउँको विकासमा लाग्ने बताएपछि जिल्ला प्रहरी कार्यालयले प्रत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको थियो ।