जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १६:४४

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल आज रातीबाट सात घन्टा बन्द, यस्तो छ कारण


काठमाडौ, भदौ १५ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आजदेखि दैनिक सात घन्टा बन्द हुने भएको छ । धावनमार्ग लगायत जिर्णोद्वारको कामका लागि आजबाट बिमानस्थल ७ घन्टा बन्द हुने भएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार आजबाट राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन भने विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरी उडान भर्न दिइने छ । ‘निगमको उडान भएको दिन मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिनेछ, साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने छ,’ महाप्रबन्धक क्षत्रीले भन्नुभयो ।

क्षेत्रीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन (जिर्णोद्वार) को काम आज रातीबाट सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुनेछ । दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुनेछ ।

यसअघि गत चैत ११ देखि असार १६ गतेसम्म तीन महिना १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्वार) को काम सम्पन्न गरिएको थियो । पहिलो चरणमा चिनियाँ ठेकेदार कम्पनीले ३ हजार ५० मिटर लामो तथा ४५ मिटर चौढाई भएको धावनमार्गमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाई तथा २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राखेको थियो । चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले मनसुन सुरु भएकाले पहिलो चरणको जीर्णोद्वारको काम असार १६ पछि रोकेको हो ।

सो कम्पनीले दोस्रो चरणको काम भदौ १५ पछि गर्ने प्रस्ताव राखेको थियो । सो प्रस्तावलाई प्राधिकरणले स्वीकार गरेको हो । पहिलो चरणमा अन्तराष्ट्रिय विमानस्थलको ३ हजार ५० मिटर लामो धावनमार्ग मर्मत कार्य सकिसकेको छ । सो मर्मतपछि विमानस्थल २१ घन्टा पुनः सञ्चालनमा ल्याइएको थियो । अव भने सात घन्टा बन्द हुनेछ । यद्यपी नेपाल बायु सेवा निगमलाई जापानको ओसाका विमानस्थलले दिएको समय तालिका फेर्न नमिल्ने भएकाले प्राधिकरणले नेपाल सरकारको निर्देशन अनुसार, ठेकेदार कम्पनीसँग आग्रह गरेर राति आधा घन्टा मर्मत कार्य रोक्नुपरेको हो ।

निगमको राति साढे २ बजे उडेको विमान अर्को दिनको साँझ ६ बजेपछिमात्रै काठमाडौं फर्किन्छ । यो रुटको एकतर्फी उडान समय ७ घन्टाको हाराहारी लाग्छ । अर्थात काठमाडौंबाट राति उडेको वाइडबडी कम्तीमा १५ घन्टापछि अर्को दिन बेलुकी मात्रै ओसाकाबाट फर्केर आइपुग्छ । निगमका अनुसार, काठमाडौंबाट बिहान साढे २ बजे निगमको वाइडबडी ओसाकाका लागि उडाउने र त्यहाँको स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मा ओसाका पुग्छ । त्यस्तै ओसाकाबाट स्थानीय समयअनुसार दिउँसो १ बजेर ५५ मा उडान गरेर त्यही दिन साँझ ६ बजे काठमाडौं जहाज काठमाडौं आइपुग्छ ।

आयोजनाका अनुसार, अब घामपानीका कारण धावनमार्गको पिच उप्किने, जहाज होल्डमा राख्नुपर्ने समस्या छैन । सबै कार्य समयभित्रै सकिए पुस १५ पछि काठमाडौं विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न सकिनेछ । प्राधिकरणले यो जिर्णोद्वारले धावनमार्ग कम्तीमा २० वर्षसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने क्षमताको बन्ने भनेको छ । यो ठेक्का चिनियाँ कम्पनीले ३ अर्ब ७८ करोड रुपैयाँमा सकारेको थियो ।