जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार २०:०६

प्रभु बैंकका सिओओ थकालीको त्यो फोन, जस्ले टार्यो नेपाली बैंकमाथि चिनियाँ ह्याकरको आक्रमण


काठमाडौं, भदौ १५

शनिवार राजधानी काठमाडौं मोजमस्तीमा डुबेको हुन्छ । सातामा एक दिने आउने छुट्टीले भेटघाट, रमाइलो गर्ने दिनका रुपमा शनिवार चिनिन्छ । दरवारमार्ग क्षेत्र वरिपरि रमाइलो गर्नेको पनि शनिवार भिड नै हुन्छ ।

तर, त्यसै बखत दरवारमार्गमा रहेका एटिएम मेसिनमा भने अर्को ठुलो षडयन्त्र भईरहेको थियो । बैंक एटिएमबाट चिनियाँ नागरिकहरुले धमाधम रकम निकालिरहेका थिए । नविल बैंकका एटिएमबाट उनिहरुले ७० लाख निकालि सकेका थिए । त्यसै क्रममा उनिहरुले प्रभु बैंकको एटिएम कार्डबाट पनि रकम निकालिरहेका थिए । नविल बैंकका कर्मचारीले प्रभु बैंकका चिफ अप्रेसन अफिर (सीओओ) दिनेश थकालीलाई पनि अस्वभाविक घटनाका विषयमा जानकारी आयो । उनलाई पनि अस्वभाविक लागेपछि तत्कालै प्रहरीलाई खबर गरे । नविल बैंक जस्तै उनले पनि चुपचाप लागेको भए ठुलै रकम लिएर चिनियाँ टोली फरार हुने अवस्था देखिएको प्रहरी बताउछ ।

प्रहरीले सुरक्षागार्डको सहयोगमा एटिएमबाट रकम झिकिरहेका चिनियाँ नागरिक झु लियांगांगलाई पक्राउ गर्न सफल भयो । त्यसपछि अरू चारजना होटल माया मनोरमाबाट पक्राउ परेका थिए । झुको साथबाट २० थान नक्कली भिसाकार्ड फेला परेको थियो । उनी हात्तीसारमा रहेको माया मनोहर बुटिकमा बसेको खुलेपछि प्रहरीले बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ मा खानतलासी गरेको थियो । सो क्रममा अन्य चिनियाँ नागरिकले हतार हतार बुटिकको होटल लिफ्ट प्रयोग गरी भाग्न खोजेका थिए । सो क्रममा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूको साथबाट एक करोड २६ लाख रुपैयाँ बरामद गरिएको छ । अझै केही चिनियाँहरू फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरूलाई आइतबार नै प्रहरीले सार्वजनिक पनि गरेको छ । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ ।