जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ०९:४३

तीज पर्व र श्रीमती बटुल्दै हिँड्ने व्यभिचारी पुरुषहरु


कुनै पुरुषले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने गरेको आजसम्म कहिल्यै पनि सुनिएको छैन । बरु एउटी पत्नी घरमा हुँदाहुँदै श्रीमतीहरु बटुल्दै हिँड्ने, धेरैवटी श्रीमती राख्ने व्यभिचारी पुरुषहरु भेटिन्छन् । पत्नीले व्रत बस्दा आयु लम्बिने भए धेरैवटी पत्नीका पतिको आयु कति लामो हुँदो हो ?

मिना श्रेष्ठ

नारी मुक्तिको गीत गाउने दिन भने पनि, स्वतन्त्रताको चाड भने पनि, विलौना गाउने इतिहासको दिन भने पनि नेपाली हिन्दू महिलाहरुको तीज पर्व घरदैलोमा आइपुगेको छ । यो पर्व कहिले शुरु भयो भन्ने यथार्थ नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रुपमा पाउन अन्न–जल नखाई उपवास बसेपछि उनले शिवलाई प्राप्त गरिन् । त्यही पौराणिक कथा अनुसरण गर्दै हिन्दू महिलाहरुले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहर व्रत बस्ने चलन चलिआएको पाइन्छ । माइतीबाट छोरी–चेलीलाई लिन जाने, माइतीघरमा आफ्नो गच्छेअनुसारको मिठो–मसिनो खाने–खुवाउने, एक दिन भए पनि आराम गर्ने गरिन्छ । यो पर्वमा कतै व्रत बस्ने अघिल्लो दिन माइतीघर पुगेर उज्यालो हुनु अघिसम्म दरको रुपमा खीर, ढकने, चाम्रे इत्यादि खाने प्रचलन रहेको पाइन्छ ।

हरितालिका तीज पर्व तृतीयाको दिन व्रत बस्नुभन्दा अगाडि गरिने भेटघाट र मिठो–मसिनो खानपिन हिजोआज साउने सङ्क्रान्तिकै दिन शुरु हुन थालेको छ । हिजोआज झन्डै दुइ महिनासम्म मनाइने तीजमा सामाजिक सञ्जालका भित्ताहरु रङ्गिन थालेका छन् । गर्वका साथ धक फुकाएर मेरो चौधौं तीज भनेर तडकभडकसहित फोटोहरु प्रदर्शन गरेको पाइन्छ । यस्ता तडकभडक र उपभोक्तावादी संस्कृतिले तीजलाइ फेशन शोमा परिणत गर्दै लगेको छ । कहिले तीज आउँछ र साडी–गहना देखाऊँ जस्तो भएको छ । कसको साडी कति महङ्गो ? कसको गहना कति भनेर देखाउने प्रतिस्पर्धा भएको छ ।

हिन्दू धर्मग्रन्थमा पतिलाई परमेश्वरका रुपमा मान्नुपर्ने उल्लेख छ । अझ महिलालाई मानवको रुपमा नस्वीकार्ने मनु स्मृतिले महिलाले पतिभक्ति र जयजयकार गर्नुपर्ने, पतिलाई जवाफ फर्काउन नहुने, सधैं पतिको नियन्त्रणमा रहनुपर्ने, पतिको मृत्युपछि राम्रो हुन नहुने, मिठो पौष्टिक खाना खान नहुने उल्लेख गरेको पाइन्छ । तिनै धर्मग्रन्थलाई पक्षपोषण गर्दै आएको हाम्रो संस्कृति–रीतिरिवाज पितृसत्तात्मक सामन्ती चिन्तनले जकडिएको छ । समाज परिवर्तनको क्रममा मातृसत्तात्मक परिवारबाट पितृसत्तात्मक परिवारमा पुग्दा पुरुषले महिलामाथि शासनको शुरुआतमा महिलालाई बन्दीको रुपमा हातखुट्टा बाँध्न प्रयोग गरिएका नेलकडी र सिक्रीहरु अहिले गहनाका रुपमा प्रयोग भइरहेका छन् ।

अहिले अविवाहित युवा महिलाले असल पति प्राप्त गर्न शिवजीको पूजा–आराधना गरेर व्रत बस्छन् भने विवाहित महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् । तर, कुनै पुरुषले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने गरेको आजसम्म कहिल्यै पनि सुनिएको छैन । बरु एउटी पत्नी घरमा हुँदाहुँदै श्रीमतीहरु बटुल्दै हिँड्ने, धेरैवटी श्रीमती राख्ने व्यभिचारी पुरुषहरु भेटिन्छन् । पत्नीले व्रत बस्दा आयु लम्बिने भए धेरैवटी पत्नीका पतिको आयु कति लामो हुँदो हो ?

त्यसो त सबै पुरुष व्यभिचारी हुन्छन् भन्ने पनि होइन । हाम्रो समाजमा अधिकांश महिला हिंसाको कुरा उठ्ने गरेको पाइन्छ । महिलाले पुरुषमाथि पनि हिंसा गर्ने गरेको पाइन्छ । हिजोआज चित्त नबुझे पतिको गालामा थप्पड बजार्ने पत्नीहरु पनि पाइन्छन्, तर तिनको चर्चा कहीँ गरिँदैन । यस्तो चर्चा गरिएमा विचरा ती पुरुषहरु जोईटिङ्ग्रेको दर्जामा पर्छन् । हाम्रो समाजको हेराइमा सधैं पोइटिङ्ग्री भएर सहनशिला सुशिला हुँदै पुरुषको हरेक यातनालाई सहँदै घर गरिखाने महिलालाई असल ठानिन्छ । समाज बर्बर युगबाट सामन्ती युगमा रुपान्तरण भइसकेपछि महिलालाई नियन्त्रणमा राख्न नितान्त दासी र बच्चा जन्माउने साधनको रुपमा प्रयोग गर्न खोजिएको छ ।

यस्तै पुरुष चिन्तनलाई सामन्तवादी पितृसत्तात्मक समाजमा वैधता प्रदान गर्ने चाड तीज हो । यो पर्व पुरुषको प्रभुत्वलाई संस्कारिक गर्ने, पतिबाहेक अरुलाई श्रेष्ठ नठान्ने, पतिलाई पूजा गर्ने, अलौकिक देवता होइन प्रत्यक्ष देवता मानिने पुरुष प्रभुत्वको पूजा गर्ने परम्परागत चाड हो यो । हाम्रो समाज अभैm पनि सामन्तवादी पितृसत्तात्मक सोचबाट ओतप्रोत छ । हामीभित्रै पितृसत्तात्मक चिन्तन हावी छ । युगौंदेखि महिलालाई दासीको रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन, यो समाजको आधा हिस्सा महिलाभित्र पनि पाइन्छ । यो चिन्तनले सांस्कृतिक रीतिरिवाजमा मात्र नभई सामाजिक, आर्थिक, राजनैतिक हरेक पाटोमा छाएको पाइन्छ । समाज विकासको रुप आजको स्थितिमा आइपुग्दा हामीकहाँ दुई खाले पुरुष चिन्तन भेटिन्छन् ।

एकले तीजको व्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होइन, तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ । त्यसैले व्रत नबस । तिम्रो व्रतले मेरो आयु लम्बिने होइन, तिम्रो आयु छोट्टिन सक्छ भन्छ । अर्का थरी पुरुष भने के गर्ने ? हाम्रो संस्कृति हो, चलिआएको परम्परा हो । गोडा धोएर पानी खाऊ भनेर गोडा तेस्र्याउँछन् भने उनीहरु व्रतै नबसे पनि रातो साडी चाहिँ लाउनू है भन्छन् । व्रत बसेको दिन श्रीमान्ले साँझ खाऊ नभनी खान नहुने, टाढा छ भने श्रीमानले फोनबाट खाऊ नभनेकाले भोकै बस्नु परेको गुनासो सुन्न पाइन्छ । हामीकहाँ सबै पुरुषहरु पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होइन ।

महिलावादी सोच राख्ने, महिला र पुरुष समान हुन् भन्ने धारणा राख्ने पुरुषहरु पनि पाइन्छन् । महिलाले महिलालाई हिंसा गर्ने, दुव्र्यवहार गर्ने तीतो सत्य छँदैछ । सासू–बुुहारी, नन्द–भाउजूबीच न्यानोभन्दा चिसो सम्बन्ध, एउटी महिला अर्की महिलालाई विस्थापित गरेर सौता बन्ने, महिलाले नै महिलाको चियोचर्चा महिलाले नै गरेको पाइन्छ । त्यसैले यस्ता प्रवृत्तिलाई हटाउन सामन्तवादी पितृसत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ, खोजी गरिनुपर्छ र उखेल्नुपर्छ ।

हिजोआज परम्परागत रुपमा हिन्दू महिलाहरुले महान् चाडको रुपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ । अझ राजधानीमा तीजमा दर खानका निम्ति चन्दा बटुल्ने चलन पनि शुरु भएको छ, ठाउँ–ठाउँमा तीज मेलाहरु शुरु भएका छन् । विभिन्न पार्टी प्यालेसमा दर खाने र नाचगान गर्ने चलन भित्रिएको छ । पाँचतारे होटल र डान्सबारमा तीजका भाकाहरु गुन्जिन

गुन्जिन थालेका थिए तर यो साल देखि केही मात्रामा कम भएको छ । तीजमा खाइने खीर, चाम्रेहरु परिवर्तन भएर अरु खाद्य पदार्थ पनि भेटिन थालेका छन् । धैरै गहना, रातो साडी र तडकभडक जहाँ छ, त्यहाँ मिडियाको पनि उपस्थिति पाइन्छ । प्रचार–प्रसार त्यहाँ पाइन्छ । सासूले, नन्द–आमाजूले दिएका दुःख र पीडा साटासाट गर्ने, गुनासा पोख्ने महान् चाड मानिएको तीज आज कसको साडी कति महङ्गो, कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको पाइन्छ । यसरी हैसियत प्रदर्शनले सम्पन्न परिवारमा त रमाइलै होला, तर विपन्न परिवारमा भैंझगडा र आत्महीनता बोध गराउन सक्छ ।

तीजको अवसर पारेर एकै दिनमा ४–५ ठाउँमा तीजका आधुनिक परिकार खान छड्के तीलहरी र गहनाले झ्याप्प भएर हटाउँदै सकारात्मक सोचको विकास गर्दै विकृति उन्मुख तडकभडकपूर्ण तीजको अन्त्य गर्नुपर्छ । हँुदा खाने र हुने खानेबीचको खाडललाई पुर्नुपर्छ । परिवर्तन हुँदै आयको तिज पर्व लाई बिश्वास भरोसा र प्रेमको पर्व बनाउन पर्छ । समाजलाई पितृसत्तात्मक जन्जालबाट मुक्त गराउँदै समतामूलक समाजको निर्माण गर्न लाग्नुपर्छ । एकले अर्कालाई हेप्ने र दमन गर्ने समाज होइन, खुल्ला आकाश र खुल्ला धर्तीमा रम्ने समाज निर्माण गर्नुपर्छ ।