जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०८:१८

ऋषिपञ्चमी र अरुन्धती : हरेक नारीले बुझ्नैपर्ने यथार्थ


एकाइशौ शताब्दीमा आएर ऋषि पंचमीलाई महिनावारी हुँदा छुवाछुत गरेको पापकट्टीको सांस्कृतिक पर्वको रुपमा मनाउँदै आइरहेका छौं । जुन गलत ढंगले ब्याख्या गरेर अन्धविश्वास थोपरी दिएको छ । अरुन्धतीको जिवन कथालाई अध्ययन र विश्लेषण गर्दा छोरीलाई सही मार्ग र सक्षम बनाउने र उनीहरको जिवनको लागि सक्षम बर खोज्ने र विवाह जस्तो महत्वपूर्ण निर्णय गर्न स्वयंलाई दिनुपर्छ

कमला ओली शिवाकोटी

हिन्दु धर्मशास्त्रले पतिव्रता स्त्रीलाई सती मानेको छ । जो स्त्री तपस्विनी छन् र आफ्ना पतिलाई मात्र गुरु मानेर बस्छिन, त्यस्ती विवाहिता स्त्री नै सती मानिन्छिन् । यस्ता पतिव्रता स्त्रीमा दक्ष प्रजापतिकी छोरी सतीदेवी र बशिष्ठपत्नी अरुन्धती दुवै सर्वोपरी मानिएका छन । उनीहरका रोमाञ्चकारी कथा पुराणहरुमा पाइन्छ ।

दक्षपुत्री सतीदेवी माता विरणीको गर्भबाट जन्मिएकी हुन् । यही गर्भदोषका कारण आफ्ना पिताको अपमान सहन गर्न नसकी यज्ञमा हाम फालेर मरे पनि सतीदेवीले आफ्ना पूर्वजन्मका पति भगवान शंकरलाई पुनः प्राप्त गर्न कठोर तप गर्नुपरेको थियो । यो पार्वतीको तपस्या नै आर्य नारीहरुको तपस्या मार्ग मानिन्छ र यसमा पति र पत्नीको आधा आधा अंग मिलेर एउटा एउटा शरीर बन्छ भन्ने कुरालाई अर्र्धनारीश्वर शिवको दृष्टान्तद्घारा पुष्टि गर्दछ । यसप्रकारको पतिब्रताको इतिहासलाई सती शिरोमणी अरुन्धतीले अझबलियो बनाएर आर्य नारीलाई अघि बढाउने काम गरेको छन । यसैले उनी सती स्त्रीहरुमा शिरोमणी अर्थात सम्पूर्ण स्त्रीमा श्रेष्ठ मानिएकी छिन् र सप्तर्षिहरुमा पूजा गरीएका आफ्ना पति महर्षि बषिष्ठसँगै पूजा गरिन्छिन् ।

सप्तर्षिसँगै पूजा गरिने सती शिरोमणी अरुन्धतीको माहात्म्य विश्वकल्याणकारी छ । किनकी उनी महातपस्विनी र महापतीब्रता असाधारण स्त्री हुन् जो ताराका रुपमा चम्कीरहने छिन् । यसैले ऋषिपञ्चमी –भाद्र शुक्लपञ्चमी ) सप्तर्षिसँगै पूजागरिने सतीशिरोमणी अरुन्धतीलाई चरित्रदेवीको रुपमा सम्मान अर्पण गरिन्छ । आज प्रत्येक गृहणीले उनको तपस्या उनका विश्वकल्याणकारी प्रतिज्ञा र उनका विवाहयज्ञान्त स्नानबाट उत्पन्न भएका विभिन्न नदिका उपाख्यानबाट स्त्रीजातीबाट असाधारण शत्तिको पाठ सिक्नु परेको छ । ती अरुन्धती कसकी छोरी र कसकी पत्नी थिईन र कसरी उनी ज्योतिर्मयीतारा बनेर चम्किन सकिन् भन्ने कुरा बुझनु जरुरी छ ।

ब्रहमाजी परब्रम्हा परमेश्वरको आराधाना गरेर सृष्टि गर्ने प्रसंगमा मरिची, अत्री, पुलह, अंगिरा, क्रतु, पुलस्त्य, बशिष्ठ, नारद, दक्ष र भृगुनामका १० वटा मानव पुत्रलाई सृष्टि गरिसकेपछि मनबाट नै एउटी त्यस्ती कन्याको उत्पत्ती गरे जो त्रिलोक सुन्दरी थिइन् । ध्यान गर्दा जन्मिएकी हुँदा उनको नाम सन्ध्या रह्यो । तर उनको रुप देखेर पिताब्रम्हा नै कामातुर बनेर फेरी ध्यान गर्न थाले । फेरी उनको मनबाट नै कामदेवको उत्पत्ती भयो र सारा प्राणीलाई मोहीत पार्ने वरदान कामदेवले पाएँ । यसको परिणाम त्यति राम्रो निस्किएन । किनकी त्यो कामदेवले आफना वाणहरुको परिक्षण पिता ब्रम्हामाथि नै ग्र्यो । फलतःब्रम्हाले आफनी नाबालक छोरी सन्ध्यालाई बलात्कार गर्ने प्रयास गरे । तर यसलाई शंकरले असफल पारिदिए ।

सन्ध्यामा जव यौवनावस्थाको विकास भयो, तब उनले कामबासना त्यागी विश्व कल्याणकारी तपस्या गर्ने निर्णय गरिन् । सन्ध्या तपस्याका लागि हिमालय पर्वतमा पुगिन् तर उनलाई तपस्याको कुनै नियम वा विधि थाहा थिएन । उता पिताब्रम्हालाई पनि चिन्ता भयो कि सुकुमार पुत्रीले कसरी तपस्या गर्लिन । यसैले उनले आफना पुत्र बशिष्ठलाई त्याँहा पठाए । महर्षि वशिष्ठले पनि विष्णुको तपस्या गरेर आफनो कामना पूर्ण गर्ने सल्लाह दिए । त्यसपछि सन्ध्याले लामो समयसम्म चन्द्रभागानदीको किनारमा विष्णुको कठोर तपस्या गरेको कालिका पुराणको २२ औं अध्यायमा उल्लेख छ ।

सन्ध्याको तपस्याबाट सन्तुष्ट भएका विष्णुले मेघातिथि ऋषीको यज्ञ कुण्डबाट महान सती अरुन्धतीको रुपमा जन्मने आर्शीबाद प्राप्त भएपछि उनी हिमालय पर्वतको तापसाख्यनामको आश्रममा महर्षि मेघातिथिले यज्ञ गरेको यज्ञकुण्डमा कसैले थाहा नपाउने किसिमले प्रवेश गरिन् । उनको शरीरलाई भगवान विष्णुले आफनो हातले स्र्पश गरेर पुरोडास (हब्य पदार्थ) मय बनाईदिनु भएको थियो । यसैले उनको शरीरलाई अग्निदेवले पुरोडास (हव्यपदार्थ) झै जलाएर त्यसबाट सुन्दर कन्याको उत्पत्ती गराएका थिए । कुनै पनि धर्मलाई नरोक्ने भएको हुँदा ती कन्याको नाम अरुन्धती रह्यो र पिता मेघातिथि पनि प्रसन्न बने ।

चन्द्रचभागानदीको जलमा स्नान गर्दै कुमारी अरुन्धती हुर्कदै गईन् । एक दिन उनका पूर्व पिता ब्रम्हाले अरुन्धतीलाई देख्नुभयो र उपदेशको आवश्यक बेला भएको महसुस गर्नुभयो । अनि ब्रम्हाले मेघातिथि ऋषिलाई भेटेर भन्नुभयो हे महामुनी, यो अरुन्धतीको उपदेशको बेला हो । यसैले तपाई अरुन्धतीलाई सती स्त्रीहरुको समीपमा राख्नुहोस । किनकी स्त्रीहरु नै स्त्रीहरुका उपदेशक बन्न सक्छन् । सती स्त्रीहरुमा सावित्री, सरस्वती, गायत्री र द्रुपदा अति उच्च मानिन्छन् । उनीहरुको संगतले अरुन्धती पनि महा गुणद्दारा सम्पन्न हुनेछिन् । मेघातिथि ऋषिले ब्रम्हाको सुझाव स्वीकार गरे र चरीत्रवती महासतीहरुका आश्रयमा अरुन्धतीलाई राखे । ती माताहरुले पनि अरुन्धती आफनै तपस्या बलद्वारा लोककल्याण गर्ने स्त्रीहरुमा श्रेष्ठ मानिने कुरा मेघातिथिलाई बताउनुभयो ।

कालिका पुराणका २३ औं अध्यायअनुसार लामो समयसम्म ती अरुन्धती सावित्रि, सरस्वती सँग सूर्यलोक र इन्द्रलोकमा आउने जाने गर्थिन् । समय बित्दै जाँदा उनमा यौवनारम्भ भयो । एक दिनउनले मानस पर्वतमा वशिष्ठ ऋषिलाई देखिन र दुवैमा अनुराग बढ्यो । यो कुरा उनले गुरुआमाहरुलाई ब्यक्त गरिन् । गुरुआमाहरुले यस घट्नालाई ध्यान दृष्टिले हेर्दा कल्याणकारी रुपमा देख्नुभयो र अरुन्धतीका विवाह महर्षि वशिष्ठसँग हुने निश्चित भयो । मानस पर्वतमा वशिष्ठ ऋषि र अरुन्धतीको वैवाहिक यज्ञ सम्पन्न भयो ।

जुनजुन युगमा जस्तो भावना र भेषभुषा र आकृतिको आवश्यकता पर्छ, त्यस्तो भावना र भेषभुषा धारण गरेर महासती अरुन्धती सँगै दीर्घजीवि वशिष्ठ घुमिरहन्छन् भन्ने उल्लेख कालीका पुराणमा छ । यसरी चरीत्र ज्योती छरेर संसार पवित्र पार्न ब्रम्हा, विष्णु र महेश्वर आदि देवताले सर्वोच्च पद दिएर महर्षि वशिष्ठ र अरुन्धतीलाई सम्मान गरिएको छ । आज त्यस प्रकारका तपस्वी पुरुष र यस प्रकारका सतीशिरोमणी स्त्रीका चरित्र ज्योतीको आवश्यकता परिरहेको छ । अरुन्धतीको कथा मात्रलाई पनि धर्मको साधन मानिएको छ । अरुन्धतीको कथा सुन्ने नारीहरु पतिब्रता बनेर स्वर्ग जाने सन्देस पनि कालिका पुराणले दिएको छ । विवाह, यात्रा आदिमा अरुन्धतीको कथा सुन्दा मंगल प्राप्त हुन सक्ने हुँदा ऋषीपञ्चमी जस्ता पुन्य कालमा उनको पूजा र आराधाना हुनु अत्यन्त कल्याणकारी भएको कुरा स्वतः स्पष्ट छ ।

आजको एकाइशौ शताब्दीमा आएर ऋषि पंचमीलाई महिनावारी हुँदा छुवाछुत गरेको पापकट्टीको सांस्कृतिक पर्वको रुपमा मनाउँदै आइरहेका छौं । जुन गलत ढंगले ब्याख्या गरेर अन्धविश्वास थोपरी दिएको छ । अरुन्धतीको जिवन कथालाई अध्ययन र विश्लेषण गर्दा छोरीलाई सही मार्ग र सक्षम बनाउने र उनीहरको जिवनको लागि सक्षम बर खोज्ने र विवाह जस्तो महत्वपूर्ण निर्णय गर्न स्वयंलाई दिनुपर्छ । उनीहरुको विवाह सप्तर्षि र अरुन्धतीको तपस्याको र उनीहरुका इच्छा शक्तिको परिणाम हो । यसैले उनीहरुको त्यो सर्वोच्च चरित्रलाई ह्दयंगम गर्दै अघि बढ्ने प्रयास गर्ने हो भने जीवन सार्थक हुनेमा धेरै आशावादी हुन सकिन्छ ।

(लेखक शिवाकोटी जेन्डर विशेषज्ञ हुनुहुन्छ ।)