जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०९:००

यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था : प्रभावकारी बन्यो प्लाज्मा फेरेसिस उपचार विधि


काठमाडौं, भदौं १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा दुई सातादेखि उपचार भइरहेको छ । उहाँको सोमवार छैटौं पटक प्लाज्मा फेरेसिस गरिएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो । ‘शरीरमा बढेको एन्टिबडी निष्कासन गरिएको हो । यसका साथै शरीरमा अरू एन्टिबडी बन्न नदिने हो । एन्टिबडी बढ्दै गएपछि खराबी हुन सक्छ,’ शाहले भन्नुभयो ।

एन्टिबडी निकालेर मिर्गौलाको कार्यक्षमतामा सुधार ल्याउन कार्यका लागि प्लाज्मा फेरेसिस उपचार विधि अपनाइन्छ । ‘एन्टिबडीले मिर्गौलालाई खराब गर्न सक्ने भएकाले निष्कासन गर्न उपचार विधि अपनाइएको हो,’ शाहले भन्नुभयो । पूर्वयोजनाअनुसार एन्टिबडी निष्कासन गर्न सात सेसन प्लाज्मा फेरेसिस गरिँदैछ । अहिले एक दिन बिराएर प्लाज्मा फेरेसिस भइरहेको निजी चिकित्सक डा. शाहले बताउनु भयो । उहाँका अनुसार सोमवार छैटौं पटक प्लाज्मा फेरेसिस गरिएको छ । भोलि अन्तिम पटक सो बिधिबाट उपचार गरिनेछ । शरीरबाट विकारयुक्त एन्टिबडी कति निष्कासन भयो भन्ने यकिन भने एकदुई महिनापछि थाहा हुने डा. शाहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको शरीरमा संक्रमणको जोखिम बढेपछि प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो । ‘शरीरको एन्टिबडी हटाउने हो । त्यत्तिकै छोड्ने होइन,’ प्रधानमन्त्रीका निजी चिकित्सक शाहले भन्नुभयो । उहाँका अनुसार एन्टिबडी कति हट्यो भन्नेबारे एक–दुई महिनापछि थाहा हुनेछ । प्रधानमन्त्रीसँग सिंगापुरमा रहनुभएका उहाँका मुख्य सल्लाहकार बिष्णु रिमालले पनि स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा सुधार भइरहेको छ । सम्भवतः शुक्रबार स्वदेश फर्कनेछौं,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले जनताटाइम्ससँग भन्नुभयो ।

प्रधानमन्त्री ओलीसँगै उपचारको आवश्यक ब्यवस्था मिलाउन मुख्य सल्लाहकार रिमाल जानुभएको छ । रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली उपचार सकिएसँगै आगामी शुक्रवार स्वदेश फर्कने तयारी गर्नुभएको छ । भोलि अन्तिम पटक प्लाज्मा फेरेसिस गरेपछि बिहीवाररिपोर्ट लिई प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले यसअघि साउन १८ गते पनि नेसनल युनिभर्सिटी अस्पतालमै उपचार गराउनु भएको थियो । पहिलो पटक नौ दिन उपचार गराएर साउन २७ गते स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओली पार्टी र सरकारको गर्नै पर्ने काम सकाएर भदौ ५ गते पुनः उपचारका लागि सिंगापुर जानुभएको हो । दोस्रो पटकको उपचारपछि पनि फलोअपका लागि सिंगापुर जानुपर्ने चिकित्सकले जनाएका छन् ।

प्रधानमन्त्री ओलीको दुवै मिर्गौला फेल भएपछि ०६४ साल साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि नियमित औषधी सेवन गरिरहनुभएका प्रधानमन्त्री ओलीको पहिलो पटक मृगौलाको उपचार गरिएको हो । यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बुझ्न नेकपाका नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल आज सिंगापुर जाने हुनुभएको छ । उहाँहरु प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।