जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ०८:५८

व्यापार घाटामा देखियो सुधार : साउन महिनामा आयात घटदा निर्यात बढ्यो


काठमाडौं, भदौ १८

अन्तर्राष्ट्रिय व्यापारको अधिकांश हिस्सा आयातले ओगटेको नेपालजस्तो देशको व्यापार समीकरणमा धेरैपछि परिवर्तन आएको छ अर्थात् आयातको प्रवृत्ति यस पटक घटेको छ, निर्यातमा तुलनात्मक वृद्धि देखिएको छ । खर्बौं व्यापार घाटाको भयावह स्थितिबाट गुज्रिरहेको मुलुकका लागि झट्ट पत्यार नलाग्न सक्छ, व्यापार घाटाको आयाम पनि यस पटक घटेको छ ।

यस पटक अर्थात् चालू आर्थिक वर्ष २०७६\७७ को पहिलो महिनामा आयातको प्रवृत्ति घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको साउनको तथ्याङ्कअनुसार पहिलो महिनामा नेपालले एक खर्ब १५ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । त्यसमध्ये एक खर्ब ६ अर्ब ७२ करोड रुपियाँको आयात भएको छ । यद्यपि यो मूल्य अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा ११.५१ प्रतिशतले कम हो । उक्त अवधिमा नेपालले एक खर्ब २० अर्ब ६१ करोड रुपियाँको आयात गरेको थियो । यस हिसाबले आयात करिब १४ अर्ब रुपियाँले घटेको देखिन्छ ।

निर्यातमा पनि व्यापक सुधार देखिएको छ । अघिल्लो साउनको तुलनामा यसपटक २७.६८ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड ७० लाख रुपियाँ पुगेको छ । गत वर्षको समीक्षा अवधिमा निर्यात ६ अर्ब ९२ करोड १५ लाख रुपियाँ थियो । निर्यात तुलनात्मक अवधिमा करिब दुई अर्ब रुपियाँले बढेको छ ।

व्यापार घाटा नेपालको सधैँको समस्या हो । आयातको हिस्सा क्रमशः बढ्दै जाँदा घाटाको आकार पनि निरन्तर बढिरहेको यसअघिका तथ्याङ्कले प्रमाणित गर्छन् । तर चालू वर्षको साउनमा भने व्यापार घाटाको यस्तो प्रवृत्तिमा पनि निकै सुधार देखिएको छ । करिब १४ प्रतिशतले साउनमा व्यापार घाटा अघिल्लो साउनको तुलनामा घटेर ९७ अर्ब ८८ करोड ८२ लाख रुपियाँ पुगेको छ । गत साउनमा व्यापार घाटाको आकार एक खर्ब १३ अर्ब ६८ करोड रुपियाँ थियो ।

समग्र अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्क पनि सुखद देखिन्छ । गत वर्ष साउनमा एक खर्ब २७ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार भएकोमा ९.३९ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब रुपियाँ पुगेको छ । व्यापारको यो समग्र संरचनामा देखिएको सुधारले आयात निर्यात अनुपातमा पनि सुधार ल्याएको छ ।

गत वर्ष यस्तो अनुपात १७.४ प्रतिशत रहेकोमा ३०.७१ प्रतिशतले घटेर यस पटक १२.१ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा समग्र व्यापारमा ४०.८३ प्रतिशतले बढेर गत साउनको ५.४ प्रतिशतबाट बढ्दै ७.६ प्रतिशत पुगेको छ । आयातको हिस्सा ९४.६ बाट घटेर ९२.२ प्रतिशत पुगेको छ ।

अन्तर्राष्ट्रिय व्यापारको मुख्य साझेदार सदाजस्तै भारत नै सबैभन्दा अगाडि छ । यद्यपि भारतसँगको व्यापार साझेदारीमा पनि केही सुखद तथ्याङ्क छन् । खासगरी निर्यात अघिल्लो वर्षको साउनको तुलनामा यस पटक दुई अर्ब रुपियाँभन्दा बढीले बढेको छ । गत वर्ष उक्त महिनामा तीन अर्ब ९८ करोड रुपियाँको निर्यात भएकोमा यो पटक पहिलो महिनामा ६ अर्ब पाँच करोड रुपियाँले निर्यात बढेको छ । त्यस्तै ७१ अर्ब रुपियाँको आयात भएकोमा यस पटक ६७ अर्ब ८१ करोड रुपियाँ मात्र आयात भएको छ ।

भारतसँग गत साउनमा ६७ अर्बको व्यापार घाटा बेहोरेकोमा यसपटक पाँच अर्ब रुपियाँभन्दा बढीले सुधार भई यस्तो घाटा ६१ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापार साझेदारमा दोस्रो रहेको चीनबाट १८ अर्ब ५३ करोड रुपियाँको आयात हुँदा १९ करोड ८२ लाख रुपियाँको निर्यात भएको छ । तेस्रोमा रहेको इन्डोनेसियाबाट दुई अर्ब रुपियाँको आयात हुँदा तीन लाख ८८ हजार रुपियाँको मात्र निर्यात भएको छ ।

घट्यो डिजेलको आयात

नेपालले आयात गर्ने मुख्य वस्तुमा पर्छ पेट्रोलियम । त्यसमध्ये पनि पेट्रोल र डिजेलको हिस्सा बढी छ । यस वर्षको साउनमा पेट्रोलको आयात सामान्य मात्रै बढेको भए पनि डिजेलको आयात भने घटेको देखिन्छ । तथ्याङ्कअनुसार गत वर्ष ८ अर्ब ३४ करोड रुपियाँको डिजेल आयात भएकोमा यस वर्ष ७६ करोड रुपियाँले घटेर ७ अर्ब ५८ करोड रुपियाँ पुगेको छ । पेट्रोलको आयात गत वर्षको साउनमा २८ अर्ब ७९ करोड रुपियाँ रहेकोमा २८ अर्ब ८० करोड रुपियाँ पुगेको छ । (गोरखापत्र)