जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १२:४०

आमाचकारी गाली गर्दै चालकमाथि जाइलागे प्रहरी


काठमाडौं, भदौं १८ । रसुवामा एक चालकमाथि कुटपिट भएको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । दुइ जना प्रहरी मिलेर एक चालकलाई लछार पछार गर्दै निर्मम यातनासहित बुटले कुटपिट गरेको भिडियो भाइरल बनेको हो । सामाजिक सञ्जालमा प्रहरीको यस कार्यको कडा आलोचना भइरहेको छ ।

यसरी भयो कुटपिट

घडीमा करिब साढे चार बजेको थियो । गाडीहरु टिमुरे सडक छेउमा साइड लगाएर राखिएको थियो । नेपाली सेनाको गाडी आउन लागेको जानकारी दिँदै प्रहरीले सडक खाली गर्न भन्यो । कन्टेनरहरु सडकको साइडमा थिए । कुटाइ खाने चालकको गाडी कुनापट्टी साइडमा थियो । बाटो खुला नै थियो । प्रहरी आएर त्यो गाडी हटाउन आदेश दियो ।

गाडी हटाउन लाग्दा प्रहरीले केही अपशब्द बोल्यो । प्रहरीले अपशब्द बोलेपछि चालकलाई सह्य भएन । चालक गाडीबाट ओर्लिएर गाडी हटाउन लाग्दैछु किन नराम्रो बोलेको भनेर प्रश्न गरे । यसैक्रममा प्रहरी र चालकबीच केहीबेर भनाभन भयो । प्रहरीले चालकमाथि हात हाल्यो । चालकको कपाल भुताल्न थाले । अनि बुटले हिर्काए, लछारपछार गरे । एकछिन लछार पछार गरेपछि अर्का प्रहरी पनि आए र दुई जना प्रहरीले चालकलाई समाएर कुटपिट गरे ।

यसरी किन कुटपिट गरेको यस्तो गर्न पाइँदैन भनेर अरु चालकहरु बोल्न थाले । अनि प्रहरीले कुटपिट गर्न छाड्यो । केहीबोरमा अरु प्रहरी त्यहाँ आए र चालकलाई लगेर गए । सायद उनलाई सदरमुकाम धुन्चे लगिएको होला । यतना पनि दिने, उल्टै समातेर लाने काम प्रहरीले गरेको हो । यता जिल्ला प्रहरी कार्यालयले सो घटनाको बिषयमा छानविन अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले बिज्ञप्ती नै जारी गरी घटनाको बिषयमा सत्य तथ्य छानविन गरी दोषी प्रहरीमाथि कार्वाही हुने प्रष्ट पारेको हो ।