जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १६:०९

कांग्रेसमा हिन्दु राष्ट्रको बहस : शशांककै अगाडी उपसभापतिले भने – नेपाल हिन्दु राष्ट्र हुदैन


काठमाडौं, भदौ १९

नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्रको मुद्दाले चर्को रुप लिने देखिएको छ । महामन्त्री शंशाक कोइरालाले हिन्दु राष्ट्रको पक्षमा आवाज उठाईरहेका बेला उपसभापति विमलेन्द्र निधीले त्यसको विरोध गरेका छन् । निधीले महामन्त्रीकै अगाडी नेपाल अब पुनः हिन्दु राष्ट्र हुन नसक्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रममा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा नभएको प्रष्ट पार्नुभयो । ‘संविधानले धर्म निरपेक्षता भनेको छ। संविधान बनाउने नेतृत्व नेपाली कांग्रेसले गरेको हो,’ उहाले भन्नुभयो, ‘राज्य धर्म निरपेक्ष छ। कांग्रेसलाई धर्म निरपेक्षता स्वीकार्य छ । हाम्रो चारतारे झण्डामा धार्मिक स्वतन्त्रता छ त्यो भनेको धर्मनिरपेक्षता हो।’

उपसभापति निधिले हिन्दु राज्य बनाउने कुरा कांग्रेसलाई स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो । ‘जहाँसम्म हिन्दु राज्यको कुरा छ, राज्यलाई हिन्दु राज्य नामाकरण गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छैन फाइनल कुरा यही हो’, निधीको भनाई छ । नजिकै रहेका महामन्त्री कोइराला भने निधीले यसो भनिरहदा चुपचाप सुनिरहनु भएको थियो ।