जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १०:४२

लिलामी गर्ने बेला खुल्यो नक्कली कागजात बनाएर बैंक ठगीको पोल, समातिए तीन अभियुक्त


काठमाडौं, भदौ २० । नक्कली कागजपत्रका आधारमा कर्जा प्रवाह गरी बैंक अफ काठमाण्डूमा डेढ करोड रुपैयाँ अनियमितता भएको पाइएको छ । अनियमितता बाहिर आएसँगै प्रहरीले बैंकका पूर्वकर्मचारीसहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

बैंक ठगी गर्ने सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । सो प्रकरणमा मुछिएका बैंकका एक पूर्वकर्मचारीलाई पनि पक्राउ गरी ब्युरोले छानबिन थालेको छ । प्रहरीका अनुसार सस्तो मूल्यको जग्गा धितोमा राखी महँगो जग्गा भएको भनेर कागजपत्र बनाई कर्जा प्रवाह गरी अनियमितता भएको हो । ‘खोलाछेउको जग्गालाई राजमार्गछेउको जग्गा भएको भनेर झुक्याई कर्जा लिए/दिएको देखिन्छ,’ सिआइबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भन्नुभयो ।

प्रहरीका अनुसार सो बैंकको कमलादी शाखाबाट कर्जामा अनियमितता भएको हो । ऋणीले कर्जा नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएपछि मात्र एउटा भनेर अर्काे जग्गा धितोमा राखिएको तथ्य खुलेको हो । कर्जा दिने वेला धितो मूल्यांकनको जिम्मेवारी धितो मूल्यांकनकर्ताको हुने गर्दछ । सोहीअनुसार कर्जा शाखाका कर्मचारीले अध्ययन गर्छन । तर, यो प्रकरणमा चलखेलका आधारमा कर्जा दिइएको प्रहरी आशंका छ । धितो मूल्यांकनकर्ता र कर्जा शाखाका कर्मचारीको मिलेमतोकै कारण बैंकमा अनियमितता भएको थियो ।