जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार ०६:५८

शीर्ष नेताका निवास नै कार्यालयमा परिणत, सुनसान बन्दै पार्टी अफिस


काठमाडौं, बैशाख २१

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुग्नुभएको थियो ।

तराई–मधेस फोरम अध्यक्ष अमर यादवसहित उहाँको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ। दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठान्नुभएन, आफ्नै निवासमा आयोजना गरिदिनुभयो।पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल, नेताहरू प्रभु र विश्वनाथसहित प्रदेश सचिव सुमनराज प्याकुरेलको उपस्थितिमा दाहाल निवासमा कार्यक्रम भयो। फूलमाला र खादा त्यहाँ उत्तिकै प्रयोगमा आयो। दाहालसँग फोटो खिचाउन चाहनेको तँछाडमछाड देखियो।

त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षणपत्र पनि आफ्नै निवासमा बुझ्नुभएको थियो। नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ। पेरिसडाँडामा पनि सम्पर्क कार्यालय छ। तर दाहाल धुम्बाराहीस्थित पार्टी कार्यालयमै नपुगेको दुई महिना भइसक्यो। दाहालको नेता–कार्यकर्ता भेटघाटदेखि सबै कार्यक्रम निजी निवासमै हुन्छन्। पार्टी कार्यालयमा बनाउनुपर्ने कार्यक्रमसमेत निजी निवासमा गर्ने गरी बनाइँदै छन्।

यस्तो दृश्य दाहाल निवासमा मात्र होइन, प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटार र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पनि देखिन्छ। १६ वैशाखमा प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठक आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउनु भयो। गतवर्षको जेठ ३ को पार्टी एकतायता एक पटक स्थायी समितिको बैठक धुम्बाराही कार्यालयमा बसे पनि जेजति अन्य बैठक अहिलेसम्म बसेका छन्, प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवाको अवस्था पनि उस्तै छ। उहाँ पार्टी पदाधिकारी बैठक आफ्नै निवासमा गराइरहनु भएको छ । १९ वैशाखमा मात्र पार्टीभित्र देखिएको असमझदारी हटाउने, भ्रातृसंस्थादेखि कार्यसम्पादन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक बोलाउनु भयो। पार्टीका संस्थागत निर्णय गर्ने थलोभन्दा नेता निवास बलियो बनेका यी त केही उदाहरण मात्र हुन्। यस्ता अनगन्ती घटना छन्, जसले राजनीतिक दलका मुख्य नेताहरूकै प्राथमिकता पार्टी कार्यालयभन्दा आफ्नै निवास हुन थालेको देखाउँछन्।

यस्तो प्रवृत्तिमा नेताहरूको आदत बसिसकेको नेकपा स्थायी समिति सदस्य नारायण शर्मा बताउनु हुन्छ। ‘नेतृत्वको विचारदेखि व्यवहारमा सन्तुलन मिलाउने र जनता, कार्यकर्ताले पनि निगारानी, नियन्त्रण र हस्तक्षेपकारी भूमिका खेल्ने गरी सुझाव र दबाब दिएर नेतृत्वलाई त्यहीअनुसार लैजान सकिन्छ’, उहाँ भन्नुहुन्छ, ‘तर यी सबै पक्ष विशृंखलित छन्। नेताहरूको आदत बनिसक्यो, आदत फेर्न गाह्रो छ।’ राजनीतिक दलका नेताहरूले कूटनीतिक नियोगका प्रतिनिधिलाई समेत निवासमै बोलाएर भेटघाट गर्ने चलन बढेको छ।

आफ्नै निर्णय उल्लंघन

पार्टीभित्र चर्कै आलोचना, टिप्पणी हुन थालेपछि यदाकदा मात्र नेताहरूले निजी निवासभन्दा कार्यालयलाई प्रयोग गर्न खोजेको देखिन्छ। गत २२ मंसिरमा बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेर हिँडनुभयो। शीर्ष नेतृत्वले समय पालनासम्बन्धी पार्टीले लिएको नीतिगत निर्णय कार्यान्वयन नगरेको त्यस बेला नेताहरूको प्रतिक्रिया थियो।

तर त्यसले नेकपालाई लगत्तै स्थायी समिति बैठक केन्द्रीय कार्यालयमा बोलाउन दबाबको काम गरेको थियो। त्यहीअनुसार स्थायी समितिको बैठक केन्द्रीय कार्यालयमै बस्यो। तर अन्य बेला फेरि नेताहरूको कार्यालय आवतजावत छैन। नेताहरू नै हत्तपत्त पार्टी कार्यालय नपुग्ने समस्या नेकपामा छ। महासचिव विष्णु पौडेल नियमित जस्तो कार्यालय पुग्ने गर्नुभएको छ। तर सचिवालयका अन्य नेताको उपस्थिति पार्टी कार्यालयमै यदाकदा मात्रै हुने गरेको छ।

कांग्रेस सभापति देउवालाई भेट्ने जोकोही उनकै निजी निवास बूढानीलकण्ठ पुग्छन्। पार्टी कार्यालय भने सुनसान जस्तै हुन्छ। कांग्रेसमा कृष्णप्रसाद भट्टराई पार्टी सभापति हुँदादेखि नै प्रभावशाली नेताले निजी निवासलाई बलियो बनाउँदै आएको देखिन्छ। बहुदलपछि सभापति कृष्णप्रसाद भट्टराई हुँदा गिरिजाप्रसाद कोइरालाले आफ्नो निजी निवासको भेटघाटलाई बलियो बनाए। पछि उनले सभापति हुँदा पार्टी कार्यालयभन्दा निजी निवासमै पार्टी गतिविधिलाई केन्द्रित गराइराखे।

अहिलेका सभापति देउवाको शैली ठ्याक्कै त्यही खालको छ। सुशील कोइराला मात्र कांग्रेसमा अपवाद देखिएका थिए, उनले भने नेता–कार्यकर्ता भेटघाटदेखि शिष्टाचार भेटसम्म पनि कार्यालयबाटै गरेका थिए। देउवाले तीन वर्षअघि पार्टी सभापति चुनिँदा सबै नेता केन्द्रीय कार्यालय नियमित जाने गरी कार्यतालिका नै बनाउनु भएको थियो । तर त्यो कार्यान्वयनमै आएन। उपसभापति विमलेन्द्र निधिले आफ्नो पदभार ग्रहण गर्ने बेला आफू नियमित कार्यालय आउने र भेटघाटदेखि सबै काम कार्यालयबाटै गर्ने सार्वजनिक घोषणा गर्नुभयो । तर त्यो एक साता पनि टिक्न नसकेको अन्नपुर्ण पोष्टमा खवर छ ।