जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार ०८:१३

निजामती सेवा दिवस – सेवा प्रभावकारी बन्न नसकेको गुनासो


 

काठमाडौं, भदौ २२ मुलुकमा देशभरिका निजामती कर्मचारीले आज निजामती सेवा दिवस मनाउदै छन् । । निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए तापनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेका छन् ।

सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रुपमा रहेको निजामती प्रशासनले खासै विकास निर्माणमा समेत भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । पूर्वमुख्यसचिव विमल कोइरालाले नेपालको निजामती सेवाले सोचेको जस्तो काम गर्न नसकेको बताउनुहुन्छ । मुलुकको विकास र जनताको सेवासँग प्रत्यक्ष संलग्न निजामती सेवा जुन ढङ्गले काम गर्नुपर्ने हो त्यो हुन नसकेको उहाँको भनाइ छ । “निजामती सेवाले सरकार कस्तो छ भन्ने छनक दिने गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “राजनीतिकले निजामती सेवालाई थिलोथिलो पारेकाले काम गर्न सकेको छैन । जसले गर्दा जनताबाट निजामती सेवा आरोपित रहेको छ ।”

विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि सेवा दिवस मनाउन थालिएको हो । प्रशासनको मेरुदण्डका रुपमा रहेको निजामती अन्य सेवालाई समेत निर्देशन र नियमन गर्ने भए तापनि सोच जस्तो काम गर्न सकेको छैन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले नेपालका निजामती प्रशासन सक्षम भए पनि परिमाण देखाउन नसकेको आरोप लाग्ने गरेको बताउनुहुन्छ । उहाँले पहिलेको तुलनामा निजामती सेवा सुधारिँदै परिस्कृत हुँदै जनमुखी बन्दै गइरहेको बताउनुभयो । “सरकारको नीतिनियम कार्यान्वयन गराउने प्रमुख निकाय निजामती सेवा भएकाले अहिले निजामती सेवा सुधारिएको छ”, उहाँले भन्नुभयो, “अहिले निजामती सेवा काम गर्न नसकेको भन्ने आरोप लाग्ने गरेका छन् ।”

प्रशासनविद् शारदाप्रसाद त्रिताल नेपालको कर्मचारी प्रशासन दिशाहीन भएको बताउनुहुन्छ । उहाँले सरकारले नै कर्मचारीतन्त्र कस्तो बनाउने भन्ने कुनै योजना नभएकाले दिशाहीनबाटोमा हिँडेको बताउनुभयो । मुलुकका कर्मचारीतन्त्रलाई सही दिशामा हिँडाउनका लागि शक्तिशाली आयोग बनाएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

पूर्वप्रशासक त्रितालले नेपालका कर्मचारी सक्षम भए पनि सोचअनुसारको काम गर्न नसकेको बताउनहुन्छ । उहाँ सरकारका मन्त्रीले सचिवसँग मन्त्रालयको एक वर्षको कार्यसम्पादन सम्झौता गर्ने तर ती सचिव सम्झौता भएको एक महीना नै नबित्दै अन्येत्र सरुवा हुनाले सम्झौता गरेको काम पूरा नहुने बताउनुहुन्छ ।

प्रशासनविद् त्रितालले कर्मचारी रहुञ्जेल राजनीतिक पार्टीको सदस्य र अवकाशपछि पनि विभिन्न निकाय, आयोग र राजदूतमा नियुक्तका लागि राजनीतिक दललाई समात्ने गरेकाले कर्मचारीतन्त्रमा समस्या देखिएको बताउनहुन्छ । राजनीतिक दल र सरकारले कर्मचारीलाई बाटो देखाएर मुलुकको विकासमा लगाउनुपर्ने उहाँको भनाइ छ । पूर्वप्रशासक भीमदेव भट्ट अहिलेको निजामती कर्मचारी कमजोर रहेकाले सुशासन दिन नसकेको बताउनहुन्छ । “जनताले जस्तो सेवा पाउनु त्यो पाएका छैनन्”, उहाँले भन्नुभयो, “प्रशासनमा राजनीतिक हाबी रहेको छ ।”

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल नेतृत्वका कारण निजामती सेवा सुधार हुन नसकेको बताउनुहुन्छ । उहाँले बदलिँदो परिस्थितिअनुसार निजामती कर्मचारीको क्षमता विकास गर्न सरकारले गर्न नसकेको हुनाले सेवा सोचेको जस्तो हुन नसकेको बताउनुभयो । पोखरेलले यस वर्ष सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरे पनि परिणाममुखी नभएको बताउनुभयो ।