जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १०:१८

गणतन्त्रबिरोधीलाई कडा जवाफदेखि पार्टीकै नेता–कार्यकर्ताको निष्ठा र चरित्रमाथि प्रचण्डले उठाए प्रश्न


काठमाडौं, भदौ २३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेपालमा राजतन्त्र ब्युँताउने सपना कहिल्यै संभव नहुने ठोकुवा गर्नुभएको छ । तात्कालिन माओवादीका नेता सुरेश वाग्लेको स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले राजतन्त्र चिहानमा गाडिसकेको भन्दै सो घोषणा गर्नुभएको हो ।

‘अहिले फेरि ब्यवस्थाकै बिरुद्धमा खुव प्रचारबाजी हुन थालेको छ, तर हामीले चिहानमा लगेर गाडिसकेको त्यो ब्यवस्था ब्युँझाउन सकिन्छ कि भनेर नेताहरुको बदनाम गर्न थालिएको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तर चिहानबाट कोही पनि ब्यूतिँदैन । तर पनि तिनका केही प्रेतआत्माहरु आउने र जिवित मान्छेलाई कुनै न कुनै हिसावले दुःख दिने चाँहि गर्दा रहेछन । त्यसकारण हामी अव अझै सचेत भएर जनतासँगको सम्बन्धलाई सुदृढ गर्नुपर्छ ।’ उहाँले राजतन्त्रको जति नै वकालत गरे पनि स्याल हुुँइयाँमा सिमित हुने बताउनु भयो । ‘चर्काेसँग कसैले हल्ला गर्दैमा सिंह र स्यालको तुलना हुनसक्दैन । सिंह, सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ,’ प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले संघीय तोकतान्त्रिक गणतन्त्रमाथि हमला गर्नकै लागि नेताहरुको बदनाम गराउने प्रायोजित काम भइरहेको ठोकुवा पनि गर्नुभयो । ‘ब्यवस्था उल्ट्याउनका लागि नेताको बदनाम गरिएको छ, यो तथ्यलाई सवैले बुझेर चिर्न जरुरी छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । आफ्नो सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले पार्टीकै नेतादेखि कार्यकर्तासम्मको बैचारिक–राजनीतिक र चरित्रगत बिषयमा प्रश्न उठाउनु भयो । ‘हामीले कम्युनिस्ट आन्दोलन लोकप्रिय बनाएका छौं तर बैचारिक निष्टाको दृष्टिकोणले, राजनैतिक परिपक्वताको दृष्टिकोणले वा नैतिक चरित्रताको दृष्टिकोणले हेर्दा अलि बढी नै खस्केका छौं । हामी आदर्शबाट बिचलनतिर जान खोजेको आभाष हुने गरेको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

सुरेश वाग्लेसामुसवै नेता झुक्न बाध्य

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले सुरेश वाग्लेको नैतिक बलका सामु कोही पनि टिक्न नसकेको खुलासा गर्नुभयो । वाग्लेको नैतिक तागत, समर्पणभाव र बैचारिक राजनीतिक कामका सामु कोही टिक्न नसकेको खुलासा प्रचण्डले गर्नुभएको हो । ‘सुरेश वाग्लेले बिचार राखिसकेपछि हामी नतमस्तक हुन्थ्यौं । उहाँ अगाडि सरिसकेपछि हामी सवै झुक्नु पथ्र्याे । बैचारिकदेखि साँगठानिक, राजनीतिक काममा अघि सरेपछि हामी नतमस्तक हुन्थ्यौं,’ प्रचण्डले भन्नुभयो । तात्कालिन माओवादीका पोलिटब्युरो सदस्य वाग्लेको २०५६ सालमा हत्या भएको थियो ।

वाग्लेको हत्या भएपछि माओवादी आन्दोलनमा लाग्नेको संख्या गुणात्मक रुपले ह्वात्तै बढेको खुलासासमेत अध्यक्ष प्रचण्डले गर्नुभयो । ‘हामीले सकेसम्म कम क्षतीबाट माओवादी आन्दोलन अघि बढोस भन्ने प्रयाश गरेका थियौं, जव कमरेड सुरेश वाग्लेको हत्या भयो, आन्दोलनमा बलिदान दिनेको संख्या ह्वात्तै बढ्यो,’ प्रचण्डले भन्नुभयो । जनयुद्धलाई निमोठेर नै सक्ने प्रतिक्रियावादीको सपनालाई वाग्ले जस्ता नेताहरुकै कारण पूरा नभएको बताउनु भयो ।

‘राज्यसँग लडेर तुरन्तै जित्न सकिदैन भन्नेमा हामी थियौं, त्यो बेला पनि सुरेश वाग्लेले महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । भोलि सहिद भइयो भने अन्तिम तयारी बैठकको ऐतिहासिकता चिनिनुपर्छ भनेर एउटा एउटा फोटो खिचेका थियौं । शहिद बनियो भने इतिहासमा काम लाग्छ भनेर त्यो गरिएको थियो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।