जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १३:१९

भोजपुरी भाषाका साहित्यकार मिश्रको निधन


पर्सा, बैशाख २१

भोजपुरी भाषा तथा साहित्यका मूर्धन्य साहित्यकार पण्डित दीपनारायण मिश्रको निधन भएको छ  । बिहीवार राति ८४ वर्षको उमेरमा साहित्यकार मिश्रको वीरगञ्ज रेशमकोठीस्थित आफ्नै निवासमा निधन भएको हो । अनवरत भोजपुरी भाषा साहित्यको साधनामा तल्लीन रहनुभएका मिश्र पछिल्लो केही वर्ष शारीरिक रूपमा अशक्त हुनुहुन्थ्यो ।

उच्च रक्तचाप, मधुमेह र मुटु रोगको समस्याबाट पीडित मिश्रको अन्त्येष्टि शुक्रवार अशोक वाटिकामा गरिएको छ । मिश्रको निधनबाट नेपालको भोजपुरी भाषा र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् । साहित्यकार अरुणविक्रमशाहले भोजपुरी साहित्यको ‘भीष्मपितामह’ को रूपमा अत्यन्त सम्मान र श्रद्धा गरिँदै आएका मिश्रको निधनले भोजपुरी भाषा र साहित्यको क्षेत्रमा ठूलो क्षति भएको बताउनुभयो ।

प्रकाशित कृतिहरूमा ‘अजामिल’ (भोजपुरी खण्डकाव्य), ‘अजुरीके फुल’ (राष्ट्रिय भोजपुरी कविता संग्रह), ‘फूलझरी’ (भोजपुरी सामाजिक कविता संग्रह), ‘उत्सर्ग’ (हिन्दी कविता संग्रह), ‘दोहा नीति सार’ (नीतिसम्बन्धित दोहा संग्रह), ‘असली नेता हम कहाई’ (व्यंग्य कविता संग्रह), ‘एघरीके धरनी’ (व्यंग्य कविता संग्रह), ‘ससुराली’ (व्यंग्य कविता संग्रह) र ‘करनी भरनी’ (भोजपुरी कहानी संग्रह) रहेका छन् ।