जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार ०९:४२

प्राडा. श्रीकृष्ण गिरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त


काठमाडौं, भदौ २७ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरी नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा गिरीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

वीर अस्पतालमा कार्यरत गिरि हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ। उहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर समेत हुनुहुन्छ । चिकित्सा शिक्षा आयोग उपाध्यक्षको कार्यकाल ४ वर्ष रहेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा आयोग उपाध्यक्ष नाम सिफारिस समितिले गिररीको नाम तेस्रो नम्बरमा सिफारिस गरेको थियो। गिरिसहित सुरेन्द्र शेरचन र शम्भुकुमारको नाम क्रमशः पहिलो र दोस्रो नम्बरमा सिफारिस गरिएको थियो।

सिफारिस समितिले चिकित्सा शिक्षा ऐनको मापदण्डअनुसार सार्वजनिक सूचना प्रकाशित गरेर उपाध्यक्षलाई कार्ययोजनासहितको आवेदन माग गरेको थियो। ११ जनाले दरखास्त दिएका थिए । तीमध्ये यी तीन जना सिफारिसमा परेका थिए। आयोगले पहिलो पटकको दरखास्त रद्द गर्दै साउन २० गते दोस्रो पटक दरखास्त मागेको थियो । पहिलो पटकमा ६ जनाले आवेदन दिएका थिए । दोस्रो पटक ११ जनाले दरखास्त दिएकोमा २ जनाको रद्द भई ९ जना प्रारम्भिक सूचिमा परेका थिए । सर्च कमिटीले उनीहरुको छनौट भएकाहरुको अन्तरवार्ता समेत गरेको थियो।

प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयले आवश्यक कागजात पेश नगरेको भन्दै प्रारम्भिक समितिले आवेदन रद्द गरिदिएको थियो। आयोग उपाध्यक्षका लागि निलमणि उपाध्याय, पारसकुमार पोखरेल, रमेशचन्द्र सिंह, यहुनचन्द्र शिवाकोटी र तरुण पौडेलले पनि आवेदन दिनुभएको थियो । आयोगले पूर्णता नपाउँदा ऐनको व्यवस्था बमोजिम चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा, मापदण्ड, शुल्क निर्धारण लगायत काम प्रभावित हुने गरेको छ। ७५ प्रतिशत छात्रवृत्ति र एकीकृत प्रवेश परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलित बनेको बेला सरकारले उपाध्यक्षको टुङ्गो लगाएको हो। आयोगलाई पूर्णता दिन उपाध्यक्षले कार्यकारी निर्देशन नियुक्त गर्नुपर्ने प्रावधान छ।