जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १३:५७

मेरो सरकार भन्ने हैसियत भएरै राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने हो : प्रधानमन्त्री ओली


मैले मेरो देश भन्छु । त्यसो भन्दा तपाईंहरुको होइन भनेको हो र ? मेरो देश भन्दा अरुको होइन भनेको होर ? मेरो देश, मेरो राष्ट्रियगान भन्छु, मेरो राष्ट्रिय गौरव भन्छु, मेरो संबिधान भन्छु, मैले बनाएको मेरो मात्र हो र संबिधान, राष्ट्रिय गान ? तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो । त्यसकारण ‘मेरो सरकार’को अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्नु पर्छ

काठमाडौं, बैशाख २१

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अन्तराष्ट्रिय रुपमा स्थापित अभ्याशअनुसार नै ‘मेरो सरकार’ को सम्बोधन गर्नुभएको प्रष्ट पार्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ ले सम्बोधन गरी राजतन्त्रको झल्को दिएको भन्दै बिपक्षीलगायत सत्तारुढ दलभित्रकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा रोइलो गरिरहेको बेला प्रधानमन्त्री ओलीले स्थापित अभ्याशलाई समेत नबुझ्नु वा बुझेर पनि बुझ पचाउने काम गर्नु उचित नहुने प्रष्ट पार्नुभयो । उहाँले राष्ट्रपतिले मेरो सरकार भन्ने कुनै नौलो कुरा नभएको पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले संबिधानको संरक्षक र राष्ट्रप्रमुखको हैसियतमा रहनुभएकोले यो सरकार राष्ट्रपतिकै भएको पनि प्रष्ट पार्नुभयो ।

‘मैले मेरो देश भन्छु । त्यसो भन्दा तपाईंहरुको होइन भनेको हो र ? मेरो देश भन्दा अरुको होइन भनेको होर ? मेरो देश, मेरो राष्ट्रियगान भन्छु, मेरो राष्ट्रिय गौरव भन्छु, मेरो संबिधान भन्छु, मैले बनाएको मेरो मात्र हो र संबिधान, राष्ट्रिय गान ? तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो । त्यसकारण ‘मेरो सरकार’को अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्नु पर्छ,’ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँन्ग कुरा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको बौद्धिक जगतसमेत अन्तराष्ट्रिय रुपमा स्थापित भइसकेको अभ्याशबारे जानकार नहुनु वा जानकार भएर पनि बिरोधको नाममा बिरोध गरिहालौं भन्ने अवस्था देख्दा अचम्म लागेको बताउनु भयो । ‘राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख हो । सम्मानित संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो । र, उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले बौद्धिक जगतले तथ्यलाई बुझन ढिलाइ गरेको प्रति भने आश्चर्य प्रकट गर्नुभयो । ‘राष्ट्रपतिले मेरो सरकार भन्ने कुरा अन्तराष्ट्रिय अभ्याश हो, बौद्धिक जगतले कम्तीमा अन्त नगए पनि यहीँ भारतमा चलेको अभ्याश पनि थाह नपाउनु अचम्म लाग्यो, कम्तीमा बिरोध गर्नुअघि भारतको अभ्याश त हेरौं न, धेरै राष्ट्रपतिले धेरै सम्बोधन गर्नुभएको छ, भारतमा गणतन्त्र नै होला, राजतन्त्र त होइन होला,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भर्खर भर्खर राजतन्त्र गएको हुनाले राजतन्त्रको झल्को लागेको हो कि, अथवा राजतन्त्र फर्काउनु पर्छ भन्ने केही केही राजनीतिक दल र नेता लागेको हुनाले झल्को लागेको हो कि ?’

प्रधानमन्त्री ओलीले स्थापित अभ्याशको बिषयमा समेत छिद्रा तर्कमा अल्झिएर बिरोध गर्नु र स्थापित प्रणाली अनुसार राष्ट्रपतिले मेरो सरकार भनेकोमा समेत आजको नेपालमा टिका टिप्पणी हुन सुहाउँदो नभएको प्रष्ट पार्नुभयो । ‘राष्ट्रपतिले कस्को सरकार भन्ने ? मेरो सरकार भन्ने हैसियत भएर नै राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने हो, यो दुनियामा स्थापित भइसकेको अभ्याश हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यस्तो स्थापित अन्त्राष्ट्रिय अभ्यास बौद्धिक जगत तथा मिडियाले बुझ्नुपर्ने उहाँको भनाई थियो । ‘धेरै परको कुरा छाडौं । संसारभरीका कुरा पनि छाडौं । अन्य मुलुकका कुरा पनि छाडौं । छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्काे पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माइ गभर्मेन्ट’ भन्ने चलन छ । भारतका धेरै राष्ट्रपतिले धेरैपटक ‘माइगभर्मेन्ट’ भनेका छन् । त्यहाँको राष्ट्रपतिले के डेमोक्रेशी नबुझेर यस्तो भनेका हुन् ? अनि हाम्रो देशमा राष्ट्रपतिले ’मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने ? भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो,’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नागरिकबाट निर्वाचित राष्ट्रपतिको गरिमा नबुझेको हो कि राजतन्त्रात्मक मानसिकताबाट हामी मुक्त हुन नसकेको हो ? भन्दै बहशका लागि तयार रहेको बताउनु भयो । ‘यस सम्बन्धमा सबैजनाले सार्थक बहस गर्न जरुरी छ । मिडियाले सार्थक बहसको नेतृत्व लिनुपर्छ, सरकार स्थापित अभ्याशको पक्षमा छ, गलत कुरा बहश गर्ने मात्रै होइन, सच्याउन पनि सरकार तयार छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा पुर्याउने सवैको फेहरिस्त सावजनिक गर्ने घोषणा पनि पत्रकारसामु गर्नुभयो । बालुवाटारदेखि देशभरका सार्वजनिक जग्गा हडप्नेबिरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको भन्दै कसैसँग कुनै संझौता नहुने उहाँको भनाई थियो ।

आफू नेतृत्वको सरकार गठन भएपछि सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने काम अघि बढेको तथ्य राख्दै प्रधानमन्त्री ओलीले अव जहिले, जुनसुकै बेला सरकारी जग्गा हडपिएको भएपनि फिर्ता ल्याएरै छाडने घोषणा गर्नुभयो । ‘मेरो नेतृत्वमा सरकार बनेपछि बालुवाटारको सरकारी जग्गा हडपिएको होइन, अहिले खोजी भएको हो, छानविन भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसरी–कसरी कुन–कुन सरकारले कुन प्रक्रियाबाट कसरी देशको सम्पत्तिलाई निजी बनाइएको छ, त्यो सवै सार्वजनिक हुन्छ । को को पर्छन म केही हेर्दिन ।’

उहाँले कहिले कुन सरकारको पालामा सरकारी जग्गा ब्यक्तिको नाममा गरियो भन्ने फेहरिस्त नै सार्वजनिक गर्ने जानकारी दिनुभयो । ‘सवै कुरा अहिले नै नभनौं, म यति मात्रै भन्छु, कुन सरकारको पालामा कस्ले कसरी सार्वजनिक सम्पत्ति ब्यक्तिको नाममा ल्याउने काम गर्यो ? त्यस्को फेहरिस्त नै सार्वजनिक हुन्छ, राष्ट्रको सम्पत्ति फिर्ता ल्याइन्छ, यस्मा म कुनै संझौता गर्दिन, कसलाई नाफा हुन्छ ? कसलाई घाटा हुन्छ केही हेर्दिन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले बिगतका सरकारले निर्णय गरेको भएपनि अहिले सच्याउने काम गरी सरकारी सम्पत्तिको संरक्षण गर्ने प्रष्ट पार्नुभयो । ‘हडपेको अहिले हो र ? अहिले त खोजी भएको हो, छानविन भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।