जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार २१:१२

युवाहरुलाई महासचिव पौडेलको कडा निर्देशन : सुन्तला जस्तो होइन स्याउ जस्तो एकढिक्का बन्नुहोस्


काठमाडौं, भदौ २७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले युवा नेता कार्यकर्तालाई कडा निर्देशन दिनुभएको छ । पार्टीभित्र गुट मौलाएको र केही निर्वाचनमा पराजय व्यहोर्नु परेको समाचार आईरहेका बेला महासचिवले गुटका विरुद्ध लाग्न निर्देशन दिनुभएको हो ।

काठमाडौँको पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, विदाई तथा स्वागत कार्यक्रममा बोल्दै महासचिव पौडेलले नेकपाको एकता सुन्तलाको बोक्रा उक्काएपछि केस्रा केस्रा बनाउन सक्ने जस्तो नभई एकढिक्का भएको स्याउ जस्तै मजबुद र प्रभावकारी योजनाको केन्द्रविन्दु भएको बताउनुभयो ।

उहाले आगामी दिनमा नेकपामा कुनै गुट र उपगुटको अन्त्य हुनेपर्नेमा जोड दिदै गुटका कारण पार्टीलाई क्षती पुग्ने भन्दै विगतका पाना हेर्नेभन्दा पनि वर्तमान र भविष्यलाई हेरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘गुटको हितमा लागे पार्टीको हित गर्न सकिदैन,’ उहाले भन्नुभयो, ‘त्यसैले बुझ्नोस् पार्टीको हितमा काम गर्र्नुहुन्छ भने गुटगत गतिविधिलाई मुर्दावाद भन्नैपर्छ।’

नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले नै देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताउनुभयो । युवा संगठन नै गतिशिल संगठन भएकाले युवा सिर्जनसिल, खोजमूलक तथा लगनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने मूख्य जिम्मा युवा शक्ति भएको बताउँदै राष्ट्रिय युवा संघले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न कुने पनि मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिनुभयो ।
साविका युवा संघ नेपालका इन्चार्ज तथा पूर्वपरराष्ट्र मन्त्री महेन्द्र पाण्डेले दुई संगठनहरु एकता भइसकेपछि विगतका इतिहास पल्टाएर हेरी अघि बढ्ने भन्दा पनि भविष्यको पाना निर्धारण गर्ने गरी राष्ट्रिय युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।

संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ तथा सहसंयोजक रमेश पौडेलले आगामी दिनमा युवाहरुलाई गोलबन्द गरी एकताबद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले आगामी असोज ९ गते सम्ममा एकताका सम्पूर्ण कामहरु सम्पन्न गरी केन्द्रीय कमिटीको बैठक राख्ने, तिहारसम्ममा संघको विशाल राष्ट्रिय कार्यकर्ता भेला राख्ने, सदस्यता प्राप्त गरेका कुनै पनि नेता कार्यकर्ताले अनिवार्य रुपमा सदस्यता लिएको तीन महिनाभित्रमा रोजगारीमा जोडिनुपर्ने लगायतका निर्णयहरु सार्वजनिक गर्नुभयो ।