जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १४:२८

ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा, यस्तो छ कारण


ललितपुर, भदौ २९ । भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै गणतन्त्रबिरुद्ध अभियान चलाउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफैले गरेको पत्रकार सम्मेलनमा कुटाइ खाएपछि सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि बिमानमै दुव्र्यवहार गर्ने शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आज पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीमाथि युटुबरहरुको प्रश्नको वर्षा भयो । प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थकबीच हात हालाहालको स्थिति बनेको थियो । प्रश्नको जवाफ दिन नसकेपछि युटुवरमाथि नै आक्रमणमा उनका समर्थक उत्रिएपछि युटुवरले शाहीमाथि आक्रमण गरेका हुन ।

युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
स्थिति सामान्य भएपछि उनलाई छाडिने उहाँको भनाई छ । शाही तिनै युटुवरको माध्इमबाट आफूलाई भ्रष्टाचारबिरोधी अभियन्ता भन्दै गणतन्त्रबिरुद्ध अभियान छेडदै आएका छन ।