जनता टाइम्स

१ आश्विन २०७६, बुधबार ०८:४९

आयल निगमले अघि बढायो थप तीन पेट्रोलियम र ग्यासको पाइपलाइन, यसरी हुँदैछ काम


काठमाडौं, असोज १ । नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीन योजना अघि बढाएको छ । निगमले दुई पेट्रोलियम र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन परियोजना अघि बढाएको हो ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरूपमा पाइपलाइनको सञ्जाल विस्तार गर्न लागिएको हो। पौडेलका अनुसार यसमध्ये अमलेखगञ्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ । यो पाइपलाइनमार्फत मोतिहारी–अमलेखगञ्ज आउने पेट्रोलियम पदार्थको परिमाणकै हाराहारीमा लोथरसम्म पुग्नेछ ।

पाइपलाइनसँगै रक्सौलको इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यासको पाइप योजना पनि अघि बढाइएको छ । यसबाहेक अमलेखगञ्जको डिपोबाट जोडेर निजगढ हुँदै दु्रतमार्गसँगै काठमाडौंसम्मको ७६ किलोमिटर खण्डमा पेट्रोलियम पाइपलाइन ओछ्याउने कार्यले पनि गति लिएको छ । ‘ग्यास र पेट्रोलियम पदार्थको गरी तीनवटा पाइपलाइनलाई योजनामा समावेश गरी दु्रतगतिमा काम गराइरहेका छौं, त्यसपछि सिल्लीगुडीबाट झापासम्म र अर्को सुदूरपश्चिममा पनि पाइपलाइन लग्ने प्रारम्भिक छलफल भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भन्नुभयो । पौडेलले निगमको नेतृत्व सम्हालेदेखि नै योपरियोजनालाई अघि बढाउनु भएको हो ।

निगमका अनुसार अहिले अमलेखगञ्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइन र इण्डो–नेपाल बोर्डरदेखि लोथरसम्मको ग्यासको पाइपलाइन ओछ्याउने विषयलाई गति दिइएको छ । यो दुवै पाइपलाइनको विभिन्न चरणको सर्वे गर्ने जिम्मेवारी इण्डियन आयल कर्पोरेसन (आईओसी)ले भारतको मुम्बईस्थित एमएस एसोसिएसनलाई दिएको छ । निगमको आग्रहमा आईओसीले आफ्नै खर्चमा लोथरसम्मको पेट्रोलियम र ग्यासको पाइपलाइनको विभिन्न चरणको अध्ययन गराउने काम सुरु गरेको हो ।

पौडेलका अनुसार गत बुधबारसम्म एमएस एसोसिएसनले विभिन्न सात चरणमा अध्ययन गर्ने जिम्मेवारी पाएको छ । पेट्रोलियम पाइपलाइन र ग्यासको पाइपलाइन एउटै रुट र खाल्डोबाट लग्ने भएकाले ती दुवै प्रयोजनका लागि ग्यासको पाइपलाइन ओछ्याउन पर्ने रुटकै विषयमा सात प्रकारको अध्ययन थालिएको छ । इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्मको करिब ९८ किलोमिटरको रुटमध्ये हालसम्म साढे ९७ किलोमिटरमा पाइपलाइनको रेखांकन गर्ने काम सम्पन्न भएको छ । साढे ९७ किलोमिटर रुटमा जनसंख्याको घनत्वको सर्वे र माटो परीक्षणको काम सकिएको छ । यस्तै साढे ६७ किलोमिटरको रुटमा विस्तृत इन्जिनियरिङ सर्वे पूरा भएको छ । यसबाहेक प्रडक्ट पाइपलाइनको रुटसम्बन्धी ३७ किलोमिटर खण्डमा काम सकिएको छ । विस्तृत इन्जिनियरिङ सर्वेको काम सम्पन्न भएपछि आरसीसी पिलरको काम पनि सम्पन्न गरिने निगमले जनाएको छ ।

निगमले लोथरमा खरिद गरेको २४ बिघा नौ कट्ठा जग्गामा पेट्रोलियम पदार्थको एक लाख किलोलिटरको छुट्टै भण्डारण गृह र ग्यासका लागि ४० हजार मेट्रिक टनको छुट्टै भण्डारण गृह निर्माण गरी दुई प्रकारको पाइपलाइनमध्ये एकमार्फत पेट्रोलियम पदार्थ र अर्को पाइपलाइनबाट ग्यास उक्त भण्डारण गृहमा भण्डारण गर्ने योजना अघि बढाएको छ ।निगमका अनुसार भारतको हल्दियाबाट मुज्जफरपुरसम्म अहिले ग्यास पाइपलाइनको विस्तार गर्ने काम भइरहेको छ । यो पाइपलाइन मोतिहारीबाट रक्सौलको इण्डो–नेपाल बोर्डरसम्म आएपछि यसमै लोथरको पाइपलाइन जोडिनेछ । अमलेखगञ्ज–लोथर पाइपलाइनका कारण काठमाडौं उपत्यकासहित धादिङ, चितवन, हेटौँडा, नवलपरासी, बुटवल, भैरहवासहितका क्षेत्रमा पेट्रोलियम आपूर्तिमा सहजता आउनेछ ।

निगमले निजगढ–काठमाडौं पेट्रोलियम पदार्थको पाइपलाइनको कामलाई पनि गति दिइएको छ । निगमका अनुसार निजगढ–काठमाडौं दु्रतमार्गसँगसँगै पाइपलाइन ओछ्याउने कामलाई गति दिइएको हो । दु्रतमार्गसँगै पाइपलाइन ओछ्याउन निगमलाई नेपाली सेना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहमति दिएको छ । यसका लागि अध्ययनको जिम्मा इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ । फास्टट्रयाक पेट्रोलियम पाइपलाइनको प्रारम्भिक अध्ययन कार्यदलका संयोजक प्राडा. श्रीरत्न बज्राचार्यका अनुसार ७६ किलोमिटर खण्डमा पाइपलाइन ओछ्याउन प्रारम्भिक चरणको अध्ययन सुरु भएको छ ।