जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १४:०४

पाकिस्तान अधिनस्थ काश्मीर भारतकै हिस्सा हुने बिदेशमन्त्री जयशंकरको घोषणा


नयाँदिल्ली, असोज १ । भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतकै हिस्सा हुने घोषणा गर्नुभएको छ । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा मंगलबार पत्रकार सम्मेलन नै गरी विदेशमन्त्री जयशंकरले सो घोषणा गर्नुभएको हो ।

‘पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिकोण प्रष्ट छ । पाकिस्तान भारतको हिस्सा हो र हामीलाई लाग्छ एक दिन त्यो भारतको हिस्सा हुनेछ,’ जयशंकरको भनाई थियो । उहाँले संविधानको धारा ३७० को बारेमा पनि खुलेर कुरा राख्नुभयो । ‘यो दुईपक्षीय मुद्दा होइन । यो भारतको आन्तरिक मुद्दा हो । पाकिस्तानको साथ धारा ३७०को मुद्दा छँदै छैन । पाकिस्तानसँग आतंकवादको मुद्दा छ,’ संविधानको धारा ३७० को बारे प्रष्ट पार्दै विदेशमन्त्री जयशंकरले भन्नुभयो । जयशंकरभन्दा पहिला भारतका अरु पनि थुप्रै नेताहरुले पाकिस्तान अधिनस्थ काश्मीरलाई भारतको हिस्सा बनाइने बताउँदै आउनुभएको थियो ।

यस्तो थियो अडान

भारतीय रक्षामन्त्री राजनाथ सिंहले हरियाणाको पंचकुलामा एक चुनावी सभालाई सम्बोधन गर्दै यदि भारतको पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो वार्ता केवल पाकिस्तान अधिनस्थ काश्मीरको मामिलामा हुने बताउनु भएको थियो । भारतका गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाहले संसदमा बोल्दै संविधानको धारा ३७० मा बहस गर्दै चीन अधिनस्थ र पाकिस्तान अधिनस्थ काश्मीर भारतका अभिन्न हिस्सा भएकोले यसको लागि आफूहरुले ज्यानसमेत दिने घोषणा गर्नुभएको थियो ।

यस्तै केन्द्रीय मन्त्री जितेन्द्र सिंहले अबको एजेण्डा पाकिस्तानको कब्जामा रहेको काश्मीरलाई भारतको अभिन्न हिस्सा बनाउनु भएको बताउनु भएको थियो । भाजपाका राष्ट्रिय महासचिव राम माधवले धारा ३७० अब इतिहास भइसकेको जनाउँदै अब भारतले अन्य कुरामा सोच्नुपर्ने र त्यसमा पाकिस्तान अधिनस्थ काश्मीर पनि रहेको जनाउनु भएको थियो ।केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि पाकिस्तान अधिनस्थ काश्मीर आफूहरुको भएको जनाउँदै भारतकै हुने प्रष्ट पार्नुभएको थियो । उहाँले यो सबै हिन्दुस्तानीको भावना भएको र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हिन्दुस्तानको भरोसा रहेको समेत उल्लेख गर्नुभएको थियो । पाकिस्तान अधिनस्थ काश्मीर भारतकै हुने उहाँको दाबी थियो ।

अर्का नेता शिवराजसिंह चौहानले पाकिस्तान अधिनस्थ काश्मीर बनाउनको लागि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु जिम्मेवार रहेको आरोप लगाउनुभएको थियो । केन्द्रीय मन्त्री रामदास अठावलेले पाकिस्तानले आफू अधिनस्थ काश्मीर भारतलाई सुम्पनु राम्रो हुने समेत जनाउनु भएको थियो । उहाँले पाकिस्तान अधिनस्थ काश्मीरका मानिस पाकिस्तानसँग खुसी नरहेको र उनीहरु भारतको हिस्सा बन्न इच्छुक रहेको धारणा राख्नुभएको थियो ।

जम्मु काश्मीरका राज्यपाल सत्यपाल मलिकले पनि भविश्यमा पाकिस्तान अधिनस्थ काश्मीरका जनताले आफ्नो भूभागलाई भारतमा गाभ्नुपर्यो भन्ने माग राख्ने दिन आउने बताउनुभएको थियो । यसैगरी भारतका स्थल सेनाप्रमुख बिपिन रावतले पनि पाकिस्तान अधिनश्त कश्मीर भारतको बनाउने घोषणा गर्नुभएको थियो । ‘पाकिस्तान अधिनस्थ कश्मीरको लागि पनि एजेण्डा तयार भइसकेको छ । भारतको हिस्सा बनाउनेछौं,’ रावतको भनाई थियो । (बीबीसी)