जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १५:५४

तालिबानको विस्फोटमा परी ४८ को मृत्यु


काबुल, असोज १

अफगानिस्तानमा मङ्गलबार भएको दुई वटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुको साथै अरु ३२ जना घाइते भएका पुष्टि गरिएको मङ्गलबार स्थानीय अस्पताल स्रोतले जनाएको थियो ।

तर बुधबार सो सङ्ख्या बढेर मृतकको सङ्ख्या ४८ पुगेको पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम साङ्गीनले एएफपीसँग बताउनुभएको छ । राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् । विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहनुभएको बताइएको छ ।

राष्ट्रपति असरफ घानी राजधानीको उत्तरमा पर्ने पारवान प्रान्तमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा प्रहरीचौकी नजिकै मोटरसाइकलकमा आएका एक आक्रमणकारीले विस्फोट गराएको र विस्फोटमा परी २६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ घाइते भएका थिए । एक घण्टापछि तालिबानले दाबी गरेको अर्को विस्फोट अमेरिकी दूतावासनजिकै मध्य काबुलमा भएको थियो । यस विस्फोटमा परी २२ व्यक्ति मारिनुको साथै अन्य ३८ घाइते भए थिए ।