जनता टाइम्स

१ आश्विन २०७६, बुधबार २०:१६

फिरौती असुली मुद्दामा गृहमन्त्री बादलका भाई नरेश धरौटीमा रिहा, अन्य अभियुक्त जेल चलान


काठमाडौं, असोज १ । जिल्ला अदालत काठमाडौंले अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधको आरोपित नरेश थापालाई धरौटीमा छाडन आदेश दिएको छ । गृहमन्त्री रामबहादुर थापा, बादलका भाइ नरेशलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको एकल इजलासले आज एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

गृहमन्त्री थापाका भाई नरेशलाई धरौटीमा छाडने आदेश दिएको अदालतले बाँकी ५ जना आरोपित पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र विनोद लामा भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सो आदेशसँगै पाँचै जना आरोपित कारागार चलान भएका छन् । हिजो मंगलबार नै आदेश आउने भनिए पनि वकिल धेरै भएका कराण थुनछेक बहस नसकिएपछि आज मात्रै आदेश आएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा नरेशसहितको समूहले बाहिर बसेर फिरौती र असुली गरेको आरोपसहित अदालतमा मुद्दा दर्ता भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापाविरुद्ध पनि मुद्धा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुगेपछि नरेश पक्राउ परेका थिए । आरोपित ९ जनामध्ये समिर जेलमै छन् भने अर्का एक अभियुक्त जना फरार छन् ।