जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १०:१९

निरन्तरको वर्षापछि नेपालगञ्ज बजार जलमग्न


काठमाडौं, असोज २। निरन्तरको वर्षापछि बाँके जिल्लाको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेका छन् । डुवानबाट मानवीय र भौतिक क्षति भने भएको छैन । वर्षाको पानीले निकास नपाएपछि जिल्लाका बस्तीहरू डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार खजुरा गाउँपालिका यसपटकको वर्षाले सबैभन्दा धेरै प्रभावित भएको र यो गाउँपालिकाको २, ५, ६ र ७ वडाका घरहरू डुबानमा परेका छन् ।, खजुराका ४ वडामा गरी १५० घरधुरीमा पानी पसेको छ भने पानी पसेपछि प्रभावितहरूलाई सकुशल सुरक्षित स्थानमा सारिएको र कतिपयले आफन्तकोमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, जानकी गाउँपालिका पनि डुबानको चपेटामा परेको छ । यद्यपि, यो गाउँपालिकाको वडा नं. १ को ४ घर मात्रै डुबानमा परेका छन् ।

वर्षाले जिल्लाको मुख्य बजार नेपालगञ्जलगायत पनि जलमग्न भएको छ । यहाँको सेतु विक चोक, घरबारी टोल, धम्बोझी, सुर्खेत रोडलगायत स्थानका घरमा पानी पसेको छ । नेपालगञ्जदेखि बर्दिया सदरमुकाम जाने सडक अवरुद्ध भएको छ । किरण नालामा आएको बाढीले सडक डुबाउँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जानकारी दिएको छ ।

भारतले सीमा क्षेत्रमा कलकलवा बाँध, लक्ष्मणपुर बाँधलगायत संरचना एकतर्फी रूपमा बनाउँदा पानीले निकास नपाउँदा यो जिल्लाका बस्तीहरू हरेक वर्षजसो डुबानमा पर्ने गरेको स्थानियबासीको गुनासो रहेको छ ।