जनता टाइम्स

४ आश्विन २०७६, शनिबार ०६:३९

सरकारको सफलतासँग कम्युनिस्ट पार्टी र मुलुकको भविष्य जोडिएको छ : पर्यटनमन्त्री भट्टराई


काठमाडौं, असोज ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो सफलतानै सरकारको सफलता भएको बताउनु भएको छ ।
संविधान दिवसका अवसरमा शुक्रवार मन्त्रालयमा प्रेस संगठनसँग आबद्ध पत्रकारहरुसँगको छलफलका क्रममा मन्त्री भट्टराईले आफ्नो सफलतासँग कम्युनिस्ट सरकारको सफलता जोडिएको र कम्युनिस्ट सरकारको सफलतासँग कम्युनिस्ट पार्टी र मुलुकको भविष्य जोडिएको बताउनुभयो ।

७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिलाउने आफ्नो प्रयासलाई सघाउनुको सट्टा केही मान्छेले मिडिया प्रयोग गरेर खिल्ली उडाएको उहाँले आरोप लगाउनुभयो । ज्येष्ठ नागरिकलाई भाडा छुट दिलाउन मेरो घोषणालाई सघाउनुपर्नेमा उल्टै कतिपय नकारात्मक चिन्तन बोकेका मान्छेहरु खिल्ली उडाउनतिर लागको बताउनुभयो ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका उहाँले यो सरकारको सफलतासँग कम्युनिस्ट पार्टी र जनताको भविष्य गाँसिएकाले आफू व्यक्तिगत रुपमा सफल हुने भन्दा पनि सिंगो सरकार सफल बनाउनुपर्छ भन्ने मान्यतामा रहेको समेत बताउनुभयो । मन्त्री भट्टराईले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आगामी मार्चसम्ममा सञ्चालनमा आइसक्ने भन्दै भारतसँग नेपालगन्ज वा महेन्द्रनगरको हवाई रुटको लागि छलफल भइरहेको समेत जानकारी दिनुभयो ।