जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १५:२४

मनसुन लम्बिने, अझै वर्षा हुने भन्दै मौसम बिभागले गरायो यस्तो सचेत


काठमाडौं, असोज ४ । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ । यो अवस्था देखिएसँगै नेपालमा मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना रहेको छ । मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने छैन । छोटो समयमा हल्कादेखि मध्यम हुने मौसमविद्को भनाइ छ ।

महाशाखाका अनुसार आज राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै भोलि आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पूर्वी पहाडी भेगका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जानसक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।