जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ०७:४४

चार मेडिकल कलेज सञ्चालकको सम्पत्तिमाथि छानविन : अधिकांशसँग अस्वभाविक सम्पत्ति रहेको खुलासा


काठमाडौं, असोज ५ । निजी मेडिकल कलेजका सबै सञ्चालकहरु सम्पत्ति सुद्धिकरण बिभागको छानविनमा परेका छन । सवै मेडिकल कलेजका सञ्चालकसँग अस्वभाविक सम्पत्ति देखिएपछि बिभागले छानविन अघि बढाएको हो ।

विद्यार्थीसँग अवैध ढंगले लाखौँ रुपैया उठाएको उजुरीका आधारमा सञ्चालकको सम्पत्ति स्रोत हेर्दा अस्वभाविक पाइएकोले छानविन अघि बढाइएको बिभाग स्रोतले बताएको छ । अतिरिक्त शुल्कबाहेक पनि उनीहरूले अस्वाभाविक रूपमा सम्पत्ति जोडेको उजुरी परेपछि बिभागले सबैको सम्पत्तिको स्रोत खोजिरहेको हो ।

बिभाग स्रोतका अनुसार पहिलो चरणको अनुसन्धानमै विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले अस्वाभाविक सम्पत्ति आर्जन गरेको तथ्य खुलेको छ। यस्तै झापामा मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको सम्पत्तिको स्रोतसमेत वैध नदेखिएको छ । दुवै मेडिकल कलेजका सञ्चालकमाथि सूक्ष्म ढंगले छानबिन भइरहेको बिभागले जनाएको छ ।

यस्तै नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र अध्यक्ष जैनुद्दिन अन्सारीको सम्पत्तिमाथि पनि छानबिन भइरहेको छ । उनीहरूको लगानीको स्रोत नै शंकास्पद रहेको भन्दै विभागमा उजुरी परेको थियो । सम्पत्ति सुद्धिकरण बिभागले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालमाथि पनि छानविन गरिरहेको छ ।

अर्यालले एक करोड ७३ लाख ठगी गरेको भन्दै विद्यार्थीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले मुद्दा नै दर्ता गरेर कारबाही अगाडि बढायो । गत वैशाखमा १७ लाख धरौटीमा अर्याल रिहा भएका थिए । प्रहरीमा उजुरी गर्ने विद्यार्थीले अर्यालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी दिएका थिए । त्यसैका आधारमा उनीमाथि पनि विभागले अनुसन्धान अघि बढाएको हो ।