जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १४:०८

अपाङ्गता पुनस्र्थापना केन्द्र स्थापना


डोटी, असोज ६

जिल्लाको जोरायल गाउँपालिकामा पहिलो पटक प्राथमिक पुनस्र्थापना कक्ष स्थापना गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिलो पटक प्राथमिक पुनस्र्थापना कक्ष स्थापना गरिएको हो । उक्त गाउँपालिका र युएमएन डोटी शाखाको सहयोगमा अपाङ्ग सेवा सङ्घले स्थापना गरेको उक्त कक्षमा अपाङ्गता भएका व्यक्ति पहिचान गरेर फिजियोथेरापी गरिने अपाङ्ग सेवा सङ्घका कर्मचारी पवित्रा खत्रीले बताउनुभयो ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना गर्ने उद्देश्यले संयुक्त रूपमा उक्त कक्ष शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उक्त पुनस्र्थापना कक्षमा हाललाई फिजियोथेरापीका लागि युएमएनले सहयोग गर्ने र पछि गाउँपालिकाले नै सञ्चालन गर्ने जनाइएको छ । अहिले उक्त कक्षमा अपाङ्गता भएका दजनौँ स्थानीयवासी सेवा लिन आउने गरेका छन् ।