जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १४:५९

प्रचण्डले बोल्नुभएको त्यो राम्रो वाक्य


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचार तथा प्रकाशन विभाग एकीकरणको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एउटा राम्रो वाक्य बोल्नुभयो, हामी जटिल परिस्थितिमा छौं । तलले धेरै मागे अराजकता लाग्ने, माथिले धेरै राखे निरङ्कुशता हुने । हामी बीचको बाटो खोजिरहेका छौं ।’ समस्याको चुरो यत्ति हो । माक्र्सवादीहरू एउटा मान्यतामा विश्वास राख्छन, समस्या धेरै हुन्छन् तर चुरो समस्याको समाधान भयो भने सबै समस्याको समाधान खोज्न सजिलो हुन्छ । चुरो समस्या पत्ता लागेपछि नेपालमा पनि त्यो मान्यता लागू गर्न इमानदारीका साथ लाग्नुपर्यो ।

त्यसो भए अहिलेको नेपालको मूल समस्या के हो ? त्यो भनेको सामन्तवादसँग मित लगाएको दलाल पुँजीवादको वर्चस्व । यो वर्चस्वलाई समाप्त नगरुन्जेल जति रोइकराई गरे पनि केही हुनेवाला छैन । अहिलेसम्म दलाल पुँजीवादको पक्षमा लागिरहेकाहरूलाई राष्ट्रिय पुँजीवादको पक्षमा ल्याउन सकिन्छ कि सकिँदैन ? हिजोको पृष्ठभूमिलाई बिर्सौं । आगामी दिनमा उसको भूमिका के हुन्छ ? ऊ रूपान्तरित हुन चाहन्छ कि चाहँदैन । ऊ दलाल नै भइरहन चाहन्छ भने पनि चिन्ताको कुनै कुरो छैन । तर दुईतिहाइको सरकारले घोषणा गर्न सक्नुपर्छ, सरकार राष्ट्रिय पुँजीलाई प्रोत्साहित गर्ने र दलालीकै पछाडि लागिरहनेलाई एउटै व्यवहार गर्न सक्दैन । हामी जे जस्तो सुविधा राष्ट्रिय पुँजीपतिलाई दिन सक्छौँ, त्यो सुविधाको आधा पनि दलाल पुँजीपति वर्गलाई दिन सक्दैनौँ ।

यो काम हल्ला र घोषणा गरेर गरिने होइन । हाम्रा नीति प्रष्ट छन् तर हामी काममा पनि सार्वजनिक घोषणा गरेर मात्रै काम गर्न थाल्यौँ भने त्यसले वाञ्छित परिणाम दिन सक्दैन । सबै ठूला व्यापारिक घरानाका प्रतिनिधिसँग बसेर सरकारले कुरा थाल्नुपर्छ । यो छलफलमा कम्युनिस्ट पार्टीको नीति बुझाउने र अब कता लाग्ने भनेर छनोटको अधिकार दिनुपर्छ । उनीहरू आफ्नो पुँजीसहित राष्ट्रिय पुँजी प्रवद्र्धनमा लाग्छन भने सरकारले उनीहरूलाई आवश्यक सुविधा पनि दिनुपर्छ । होइन, हामी सम्पन्न छौँ, हामीलाई कम्युनिस्ट पार्टी चाहिँदैन भन्छन् भने पनि केही छैन । उनीहरू जतासुकै जान पनि स्वतन्त्र हुन सक्छन् ।

तर सरकारले के गर्दा राष्ट्रिय पुँजीवादी हुन सकिन्छ भन्ने कुरा जस्ताको तस्तै भनिदिनु पर्छ । पहाडी क्षेत्रमा फल्ने स्याउको बजारीकरणको नेतृत्व लिएर, खाद्यान्नको आयात प्रतिस्थापन गर्ने काम गरेर, नेपाली जडीबुटीको प्रशोधन गरी विश्वबजारमा त्यसको उपलब्धताको सुनिश्चितता गरेर, लोठसल्लाको खेती विस्तार गरेर, चुरे क्षेत्रमा बाँस उत्पादन बढाएर आदि । सबैले के बुझ्नुपर्छ भने नेपालमा दलाल पुँजीवाद भनेको कसै न कसैको पुछ्रे हुनु हो तर राष्ट्रिय पुँजीपति भनेको आफैँ मालिक हुनु हो । पुँजीपति वर्गको समस्या पनि नेकपाका अध्यक्षले भन्नु भएजस्तै छ । उत्पादन प्रक्रियामा उनीहरू पनि श्रमसँग जोडिएका छैनन् । हामी आफैँ आफ्नो मालिक बन्न सक्छौँ भन्ने चेतना र हिम्मत दुवै अनिवार्य वस्तु उनीहरूसँग छैन । कमिसन खाएर हुर्किएको सामन्त कहाँ चट्टै श्रमिक पुँजीपति बन्न सक्छ र !

नेपालका सबै ठूला नेताहरूको समस्या भनेकै यही हो । उनीहरू आफूलाई नै सम्प्रभु ठान्छन् र अरूको त कुरै छाडौँ आफ्नै साथीलाई, आफ्नै ‘कामरेड’लाई निजी अनुयायी बनाउन चाहन्छन् । तर क्षमतावान्हरू कसैको पुच्छर समाउँदैनन् । त्यसैले पार्टी एउटा जडतामा गएर अड्किने गम्भीर रोग लागेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अनुभव गर्नुभएको निरङ्कुशता र ‘अराजकता’ आज नेपालका सम्पूर्ण नागरिकको समस्या हो । ५० वर्ष कटेका बुद्धिजीवीहरूको समस्या पनि यही हो । मलाई सरकारले यो दिएन, त्यो दिएन भनेर गुनासो गर्ने ५० नाघेका प्रौढ कार्यकर्ताको समस्या पनि यही नै हो– यत्रो काम गरेर आइयो तर अहिले पार्टीले हामीलाई बिर्सियो ।

मलाई यो एकदम स्वाभाविक लाग्छ । परिस्थिति मान्छेजस्तो जड हुँदैन । त्यो गतिशील हुन्छ । प्रकृतिले मान्छे पनि आफूजस्तै गतिशील भइदियोस भन्ठान्छ । जोसँग प्रकृतिको जस्ता गतिशीलता हुँदैन त्यो पछाडि पर्छ । यसलाई अन्यथा मान्नुहुँदैन । म अहिले ६६ वर्षको भएँ । अहिलेको कम्युनिस्ट पार्टीको जगमा मैलै पनि केही इँटा हालेको छु । त्यो काल थियो– निरङ्कुश राजतन्त्रको । अहिले त्यो निरङ्कुश राजतन्त्र समाप्त भइसकेको छ । त्यसैले म सन्तुष्ट छु । मेरो विचारमा अब सङ्घीय गणतन्त्रको निर्माण र स्थायित्वको जिम्मा हामीभन्दा पछिको पुस्तालाई दिनुपर्छ र क्रान्तिको यो नयाँ चरण पूरा गर्ने जिम्मा तपाईंहरूको हो भनी प्रशिक्षण पनि दिनुपर्छ । यसरी समस्यालाई बुझ्ने हो भने हाम्रो पुस्ताका अध्यक्षले भनेको समस्याले नेपाली राजनीतिलाई पिरोल्दैन ।

हामीले बुझ्नुपर्ने कुरा के मात्रै हो, अहिलेका बहुसङ्ख्यक स्थानीय सरकारले केन्द्रीय सरकारले भन्दा राम्रो काम गरेका छन् । उनीहरू बढी निःस्वार्थी, समाजसेवी देखिएका छन् । सुविधाको गाडी नकिनेर मतदाताका लागि एम्बुलेन्स किनेका छन् । अदालत जाने मुद्दा कति स्थानीय सरकारले त ८० प्रतिशतसम्म घटाएर गाउँ समाजमै मेलमिलापबाट टुङ्ग्याएका छन् । यी दुवै काम अराजकता होइनन् । बरु विभिन्न मन्त्रालयमा विभाजित गरिएका कामलाई प्रधानमन्त्री कार्यालयमा स्याहार्नु चाहिँ निरङ्कुशताको सोच हो । खुकुरीभन्दा कर्द लाग्ने, बाउभन्दा छोरो जान्ने एउटा उखान छ नेपालीमा । यद्यपि यो अहिलेसम्म नकारको उखान भएको छ । तर यसलाई हामीले सकारात्मक बनाउन सक्नुपर्छ । अहिलेको सामान्य व्यवहार पनि यही भएको छ । हामीले कम्प्युटर भन्ने नाम पनि सुनेका थिएनौँ । फेसबुक भनेको त कहाँ हो कहाँको कुरा थियो ! मोबाइल बोके वापत बीबीसी, नेपाली सेवाका रवीन्द्र मिश्रले ऊ बेलामा माधव नेपालको सातो खानुभएको थियो । अहिले उहाँ पनि राजनीतिको मैदानमा उत्रिनु भएको छ– फेसबुकले रङ्गिएको मोबाइल बोकेर । यसैलाई मैले प्राकृतिक परिवर्तनसँगको सहयात्रा भनेको हुँ ।

हाम्रो पुस्ताले आतङ्क र यातनाको जस्तो जीवन भोग्यो, अबका पुस्ताले त्यस्तो बेहोर्नु नपरोस् भन्ने उद्देश्य बोकेर हामी निरङ्कुशताका विरुद्ध सङ्घर्षको मैदानमा उभिएका थियौँ । आफ्नो उद्देश्यमा हामी सफल भयौँ । कम्तीमा पनि नेपालमा हामीले जनतालाई आफ्नो मालिक बनाउने काम गर्यौं । जनता आफैँ मालिक भएको यो अवस्थामा हामी पनि जनता भयौँ । एउटा नागरिकले अर्को नागरिकलाई आदेश दिन पाउँदैन ।अहिले नेता ठूला, कार्यकर्ता साना भन्ने समय होइन । सबै समान हुन् र बोकेको जिम्मेवारी पूरा गर्नु नै उसको परिचय हो । राजनीतिमा कोही राष्ट्रपति हुन्छन् कोही प्रधानमन्त्री । कोही प्रतिपक्षी दलका नेता हुन्छन् त कोही जिल्ला सभापति । कर्मचारीतन्त्रमा कोही सचिव छन् कोही शाखा अधिकृत । उनीहरू सबैले गर्ने काम परिभाषित छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुनै काम सानो र कुनै ठूलो हँुदैन । खान चाहिन्छ काम गर । काम गर्दिनँ भन्छौ भने सुरक्षित घर, (एक प्रकारको वृद्धाश्रम) मा गएर बस ।

बेलैमा नेतृत्वले यस्तो व्यवस्था गर्न सकेन भने तलैबाट यस्तो काम सुरु हुन्छ । यो अनुमान होइन । सुनिश्चित कुरा हो । माथिबाट दश वर्षसम्म नभएको काम नगरपालिकाले जिम्मा लिए पनि दुई वर्षमा सम्पन्न होला जस्तो छ । कुनै खाद्यान्नमा कुनै जिल्लामा आत्मनिर्भर पनि भइसकेको पनि पढ्न पाइएको छ । मेरो पुस्ताका राजनीतिकर्मीहरू हो ! यो परिस्थिति हाम्रै त्याग, तपस्या र बलिदानबाटै प्राप्त भएको हो । किन मन खिन्न पार्नुहुन्छ ? गौरवबोध गर्नुस् र ज्ञान कर्ममा लाग्नुस् । यही अहिलेको यथार्थ हो ।