जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार ०९:१३

नौबिसे–नागढुंगा सडकको पट्यार लाग्दो जाम : बाटोमै गयो विरामीको ज्यान


धादिङ, असोज १० । त असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम दशैंको मुखमा शुरु भएपछि सो सडकमा अहिले कम्तिमा पनि ८ घण्टा जाम हुन्छ । मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेपछि यात्रुले सास्ती खेप्नुपरेको छ ।

विरामीको समेत समयमा उपचार नभएर मृत्यु भएको छ । मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको आज विहान मृत्यु भएको छ ।

रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् । शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो । आफन्तका अनुसार मृतक साह मृगौलाका बिरामी थिए ।

उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिनुभयो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो ।

१२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताउनुभयो । एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो । आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहकमे उनको काखमै मृत्यु भएको हो ।