जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १६:४६

अमेरिकामा बन्दुक हिंसाको बिरुद्ध नेपाली गीत (हेर्नुहोस् भिडियो)


काठमाडौं, बैशाख २२

हाल अमेरिकामा ठूलो समस्याको रुपमा रहेको बन्दूक हिंसाको बिरुद्ध जनचेतना दिने गीतमा भिडियो सार्वजनिक गरिएको छ ।क्यालिफोर्निया राज्यको लसएन्जल्स शहरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको एनआरएनए डिवेट कार्यक्रमसंगै अमेरिकामा भैरहेको बन्दूक़ हिंसाका घटनाहरुका बारेमा आधारित उक्त भिडियो एस राज प्रोडक्टसनको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अत्यन्तै महत्वपूर्ण भाव रहेको गीतमा बन्दूक हिंसा बिरुद्ध जनचेतना फैलाउने भिडियोको अवधारणा सामाजिक अभियन्ता एवं संचारकर्मी डोल्मा लामाले ल्याएकी हुन् । हाल उनी एरिजोनाको अमेरिकन युनिभर्सिटी अफ सोभेरिगन न्यासन विश्वविद्यालयबाट विध्धावारिधी गर्दैछिन् ।

एस राज प्रोडक्शनका एस. राज (शंकर राज वाग्ले) को निर्देशन तथा छायांकन रहेको भिडियोमा मुख्य कलाकारहरु लसएन्जल्स निवासी सुरज श्रेष्ठ र न्युयोर्क फिल्म एकेडेमीमा अध्ययनरत ब्राजिलिएन मूलकी कलाकार रेब्बिका मोमो रहेका छन् । उक्त भिडियोमा सहायक कलाकारहरु कुसुम थापा, इन्दिरा त्रिपाठी, डोल्मा, चक्रपाणि मिस्र, चुडामणी गौतम लगायतको पनि अभिनय रहेको छ ।

भिडियोका निर्देशक वाग्लेले यसअघि चर्चित नेपाली धारावाहिक ‘मेरी बास्सै’ मा निकै रुचाईएको भुमिका राईफलेका भूमिकामा अभिनय गरी चर्चा कमाएका थिए । नेपालमा पनि हत्या हिंसा विरुध्द जनचेतनामुलक भिडियोहरु बनाउँदै अभिनय गर्ने वाग्ले हाल अमेरिकामा समेत बिभिन्न हिसां, हत्या र सामाजिक विकृतिसंग सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन् ।

भिडियोका सम्पादन हलिउडका तानो जोर्की ले गरेका छन् । ‘यो जिवनको के भर छ र !’ बोल रहेको गीतलाई चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने संगित वरिष्ट संगीतकार हरि लम्सालले र रचना गीतकार अनमोल मणिले गरेका छन् । यसमा संयोजन लसएन्जल्सबासी युवा व्यवसायी तथा सामाजिक अभियान्त दिनेश शाहले गरेका छन् ।

यो भिडियोमा हामी कोही कसैको जीवनको केहि भर छैन, कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ, हामीलाई थाहा छैन भन्ने भाव प्रष्ट्याउन खोजीएको छ र यस्ता खाले घटनालाई अमेरिकामा जल्दो बल्दो विषयमा लिईन्छ ।